Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment अफगानिस्तान : शान्तिको आशाबीच तालिबानीको चेतावनी - Pnpkhabar.com

अफगानिस्तान : शान्तिको आशाबीच तालिबानीको चेतावनी

मनिषा थापा

अमेरिकामाथि सेप्टेम्बर ११, २००१ को झैं आतङ्कवादी हमला नहुने अमेरिकाले सुनिश्चितता चाहेको छ । पछिल्ला वर्षमा अमेरिकाले प्रत्यक्ष सैनिक कमान्ड नेटोलाई हस्तान्तरण गर्नुका साथै त्यहाँ तैनाथ सैनिकको जिम्मेवारीमा पनि परिवर्तन गरेको छ । अफगानिस्तानमा आफ्ना सैनिक मारिने जोखिम बढ्दै गएपछि अहिले त्यहाँ तैनाथ नेटो सेनाले अफगान सुरक्षाफौजलाई तालिम, अतिरिक्त मद्दत गर्ने काम मात्र गरिरहेको छ ।

विगतमा झैं नेटो फौज अफगानिस्तानका गाउँघरमा प्रत्यक्ष लडाइँमा सहभागी छैन । अफगान सुरक्षाफौजले हवाई वा पृष्ठभूमिको सहयोग मागेको खण्डमा मात्र नेटो फौजले मद्दत गरिरहेको छ ।

जनवरी २५, २०१९ मा अफगान राष्ट्रपति अश्रफ घानीले सन् २०१४ मा आफू राष्ट्रपति भएयता ४५ हजारभन्दा बढी अफगानी सैनिकको मृत्यु भइसकेको जानकारी दिनुभएको छ । यस वर्ष समेत दिनहुँजसो अफगान सैनिक र प्रहरीमाथि तालिबानी आक्रमण जारी छ, र अनौपचारिक रिपोर्ट अनुसार एक महिनामा झण्डै पाँच सय सुरक्षाकर्मीको मृत्यु भइरहेको छ । आत्मघाती आक्रमणहरुका कारण सर्वसाधारणको ज्यान जानेक्रम पनि बढेको छ ।

अफगान द्वन्द्व, निरन्तर सैनिकीकरण
तालिबानको सरकार ढलेको १७ वर्षपछि पनि अफगानिस्तान सरकारले शान्ति, स्थायित्व र सहज वातावरण निर्माण गर्न सकेका छैनन् । करिब तीन करोड ४६ लाख जनसंख्या रहेको अफगानिस्तानमा पस्तुन, ताजिक, हजारा, उज्बेक, र अन्य जातिको सम्मिश्रण रहेको छ । तत्कालीन सोभियत सङ्घ ९रुस०ले २७ डिसेम्बर १९७९ मा सैनिक हस्तक्षेप गरेपछि अफगानिस्तानको परम्परागत लडाइँ अन्तर्राष्ट्रियकरण भएको ठानिन्छ । रुसी सेना र उसको समर्थनमा बनेको सरकार ढाल्नकै लागि सन् १९८९ सम्म अफगानिस्तानमा गृहयुद्ध मच्चियो । यस १० वर्षको अवधिमा सोभियत सेना, उनीहरुका सहयोगी र विद्रोहीसमेत पाँच लाख ६२ हजार तथा २० लाख अफगानी नागरिक मारिए ।

त्यस अवधिमा ६० लाख अफगानी विस्थापित भएर पाकिस्तान र इरानतर्फ भागेका थिए । अफगानिस्तानका सडक, सिँचाइ, स्कुलसमेतका सम्पूर्ण पूर्वाधारको व्यापक क्षति भयो । अन्ततः अफगानिस्तानबाट सोभियत सेना सन् १९८९ मा फर्कियो ।

अफगानिस्तानबाट रुसी सेना फर्काउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पाकिस्तानले काबुलमा आफू अनुकूलको मुजाहिद्दीन इस्लामिक सरकार चाहेको थियो । तर विभिन्न गुटमा बाँडिएका विभिन्न लडाकू समूहबीच द्वन्द्व चर्कियो । भ्रष्टाचार र निरङ्कुशताको चरम अवस्था सिर्जना भएको यही अवधिमा पाकिस्तान समर्थित तालिबानीले सरकार पनि बनाए । बिडम्बना, सन् १९९० देखि २००१ सम्मको आन्तरिक गृहयुद्धमा चार लाख अफगानी मारिएका थिए ।
अफगानिस्तान मै रहेका अलकायदाका नेता ओसामा बिन लादेनको योजनामा अमेरिकाको वैभवको प्रतीक मानिने ट्वीन टावरमा सन् २००१ मा हमला भएपछि फेरि अफगानिस्तान द्वन्द्वको भूमरीमा परेको थियो ।

सन् २००२ मा तालिबानीको सरकार पतन मात्र भएन पश्चिमा शक्ति राष्ट्रको आडमा हमिद कारजाइको सरकार बन्यो । अमेरिकी आक्रमणबाट तितरबितर भएका तालिबानले सन् २००९ देखि पुनः विभिन्न प्रान्तमा छायाँ सरकार बनाउन थाल्यो । सन् २०१० मा कारजाइले तालिबानसँग शान्ति वार्ता गर्ने प्रयत्न पनि गर्नुभएको थियो तर तालिबानीको अस्वीकृति पछि सफल हुन सकेन । सन् २०१४ डिसेम्बर २८ मा नेटोले औपचारिकरुपमा कम्ब्याट अपरेसन अन्त्य भएको घोषणा गरेको थियो । सम्पूर्ण सुरक्षा जिम्मेवारी अफगान फौजलाई हस्तान्तरण गरियो । त्यही दिन अफगान फौजलाई तालिमलगायतका सुविधा उपलब्ध गराउन नेटोको नेतृत्वमा अपरेसन रिसोल्यूट अपरेसन गठन गरियो । अझै पनि हजारौं नेटो सैनिक अफगानिस्तानमा तैनाथ छन् ।

सन् २०१४ मा अस्रफ घानी अफगानिस्तानको राष्ट्रपतिमा चुनिए । अफगानिस्तानको इतिहासमा नयाँ राष्ट्रपतिलाई प्रजातान्त्रिक विधिबाट सत्ता हस्तान्तरण भएको यो नै पहिलो घटना हो ।

अफगानिस्तानको भविष्य अझै अन्यौलग्रस्त
अफगानिस्तानमा शान्ति, समृद्धि र स्थायित्वमा बाधक को बनिरहेको छ रु यो प्रश्नको अझै पनि उत्तर सहज छैन । विविधतापूर्ण जातीय संरचना, विकट भौगोलिक अवस्था र कानुनबिहीनताको अवस्थाले अफगानिस्तानको द्वन्द्व पनि बहुआयामिक बनेको छ ।

प्रतिक्रिया