Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment आजकालको बच्चालाई आमा भन्दा पनि मोबाइल फोन प्यारो - Pnpkhabar.com

आजकालको बच्चालाई आमा भन्दा पनि मोबाइल फोन प्यारो

रिता घिसिंग,
September 25, 2018

पिएनपिखबर, भक्तपुर। आजकल मोबाइल फोनको प्रयोग जीवनको अभिन्न अंग बनेको छ । जन्मिना साथ एउटा नवजात शिशु आमासँग नजिक हुन्छ र त्यसपछि नजिक हुने सामाग्री बन्छ मोबाइल। हुर्किंदै जाँदा कतिपय अवस्थामा बच्चा सम्हाल्न गार्हो पर्दा मोबाइल दिएर थम्थमाइन्छ।

हाम्रा पाला यस्तो मोबाइल कहाँ हुनु केहि देख्न सुन्न पाइदैनथ्यो अहिलेका बच्चा उम्रिदैका तिन पात भनेर तपाई हामीले हाम्रा हजुरआमा हजुरबाको मुखबाट पनि सुन्दै नआएका होइनौ। हुन पनि हो उबेला न यस्तो स्मार्ट फोन थ्यो न त कम्प्युटर नै। एक हिसावले हेर्ने हो भने प्रविधिको विकाश हुनु सकरात्मक नै हो तर पनि अति आवश्यक भन्दा बढी प्रविधिको प्रयोगले मानव मस्तिष्कलाई नै कुजो बनाईदिन्छ।

अब कुरा गरौ आजकालका बच्चा र मोबाइलको सम्बन्ध बारे। बिहानै उठ्यो हात मुख धोयो अनि हेर्यो मोबाइल फोन। यस्तै दिनचर्या बन्दै छ स-साना बालबालिकाको अचेल। मोबाइल फोन हातमा पाएपछि रोएको बच्चा पनि चुप लाग्छ। त्यसैले पनि होला बच्चा हुर्काउन आमाहरुलाई पनि सजिलो परेको छ। आफ्नो नानीबाबुलाई मोबाइल फोन दियो अनि आफ्नो काम तिर लाग्यो।

हुन त आमाको पनि के दोष। आफ्नो काम गर्नै पर्यो बच्चालाई अल्मलाउनै पर्यो। आफ्नो बच्चालाई अल्मलाउन अरु उपाय पनि छन् छ न त। तर आजकालका बच्चा मोबाइल फोन नभई मान्दै मान्दैनन्। महंगा महंगा पर्याप्त खेलौना प्रति आजकालका बच्चालाई ध्यान नै जादैन।

जन्मनासाथ महंगा महंगा खेलौनाले पुरिएका बालबालिका अलि तोतेबोली बोल्ने भएपछि नै मोबाइल फोनमा आकर्षित हुनेगर्दछन्। यसो खाना खुवाउन लाग्यो मोबाइल फोनमा भिडियो देखाएर खुवाउनु पर्ने बाध्यता। त्यति नगरेसम्म त खाँदैखाँदैनन् आचेलका बच्चा।

दिनरात मोबाइलमा झुन्डिन पाए पछि आजकालका बच्चालाई केहि पनि चाहिदैन। पुरा संसार नै उनीहरुको मोबाइल फोनमा भए झैँ गर्छन्। आफ्नो छेउछाउमा के भैरहेको छ, कसले के गर्दै छ भन्ने कुराको समेत केहि मतलब हुन्न उनीहरुलाई।

कुनै परिवार फुर्सदिलो समय निकालेर आधा बाटो नपुग्दै बच्चा बेस्सरी फकाउनै नसक्नेगरी रुन थाल्यो भने मोबाइल फोन दिएर नै फ़काइन्छ। यस्तो अवस्थामा न त आमा–बाबु, न बच्चाले प्राकृतिक दृश्यको मजा लिनसक्छन् । बच्चाले प्रकृतिसँग रमाउने एउटा सुगम अवसर गुमाउँछ ।

यो आजकल आमा–बुबाको मुखबाट सुनिरहने साधारण वाक्य हो । बच्चा कार्टुन नहेरी खाना नै खाँदैन । अहिले त बत्ती छ, फेरि लोडसेडिङ भयो भने के गर्ने ? चार्ज सकेर मोबाइल फोन अफ भयो भने सम्हाल्ने गार्हो हुन्छ। के साँच्चिकै मोबाइल फोनको कारणले बच्चाले खाना खाएको हो त ? खाना खुवाउने र खाने आमा–बुबा र बच्चाका लागि चुनौती नै भएको देखिन्छ । खाना खानु भनेको केवल खाना निल्नु मात्र होइन । खाना खाँदा हाम्रा विभिन्न इन्द्रिय जस्तै– वास्ना, स्वाद, हेराइ, छुवाइ टाठो हुन्छ र इन्द्रियहरूको समन्वयले गर्दा खाना खाँदा बेग्लै किसिमको अनुभव हुन्छ ।

स–साना बालबालिकाको दिमागलाई चुस्त बनाउन यस्ता विभिन्न किसिमका अनुभवले निकै ठूलो भूमिका खेलेको हुन्छ । मोबाइल फोन/ट्याब हेरेर खाना खाँदा सबै ध्यान मोबाइल फोन/ट्याबमा मात्र निहित हुनपुग्छ । यसका कारणले खाना खाँदा/खुवाउँदा गरिने अन्तरक्रिया, कथा हाल्दा बच्चाले गर्ने कल्पना अनि कलिलो दिमागको वृद्धि विकासलाई चाहिने विभिन्न किसिमका साधारण उत्सुकताबाट बच्चा बञ्चित हुनपुग्छ । साथै खानाको स्वाद, वास्ना आदिको राम्रो ज्ञान नहुँदा बच्चाहरूमा ठूलो भएसम्म पनि खाना रुचाउन समस्या हुनसक्छ ।

तिम्रो मनपर्ने खेल के हो भनी सोध्यो भने पाइने उत्तर–क्रिकेट, फुटबल आदि । आहा, कस्तो राम्रो । तर कता खेल्छौ भनी सोध्दा कोठामा मोबाइल फोन र ट्याबमा यस्ता खेल बच्चाहरू २–३ घन्टासम्म र एक्लै खेल्ने गरेको देखिन्छ । यस्ता किसिमका खेल साथै अरू अनलाइन गेमका कारण बच्चाहरूलाई आवश्यक पर्ने शारीरिक व्यायाम कम हुन जान्छ । विभिन्न किसिमका खासगरी काल्पनिक खेल खेल्दा बच्चाहरूमा उत्सुकता कम हुनुका साथै एकाग्रता र स्वनियन्त्रण अनि व्यावहारिक ज्ञान घटाउन मद्दत भएको पनि देखिन्छ ।

अर्को आजकल देखिरहने/सुनिरहने शब्द ‘पासओर्ड’। कुनै पनि जमघटका पहिलो वाक्य नै भइसकेको छ, ‘यहाँको पासओर्ड के हो ?’ याद गर्नुहोस् त ? तपाईको घरको जमघटमा पनि यो शब्द एकदम सुनिन्छ । ‘खै थाहा भएन वा वाइ–फाइ चल्दैन ?’ भन्यो भने बच्चाहरू भन्छन्, ‘क्या छुच्ची आन्टी’ अनि साथीहरू भन्छन्, ‘लोभी, धेरै डाटा चलाउँदिन के ।’ यस्ता छुच्ची, लोभीको संज्ञा वाईफाइको पासओर्ड नदिँदा बच्चाहरुले भन्ने गर्छन्।

वस्तवमा भन्ने हो भने यी मोबाइल/ट्याबलेटले गर्दा जमघटमा गफसफ नै कम हुने गर्छ । एउटा कुनामा बच्चाहरू अनि अर्को कुनामा आमा–बुबा, सबैको टाउको निहुरेको निहुरै । पसल जाँदा मोबाइलमा व्यस्त साहुजीले उत्तर नदिँंदा जसरी रिस उठ्छ, त्यस्तै उत्तर नपाउँदा सामुन्ने बस्नेलाई त्यस्तै अनुभव नभएको होइन । यस्ता प्रविधिका सरल तथा अनुचित प्रयोगले गर्दा बालबालिकामा सहानुभूति कम हुनपुग्छ। साथै साथीभाइ, नातेदारहरूसँग कम अन्तरक्रिया गर्नाले बच्चाहरूमा अरूको भावना बुझ्ने अथवा अनुहारको हाउभाउ हेरेर आंँकलन गर्न सक्ने क्षमतासमेत कम हुन् जान्छ।

खासगरी बालबालिका मोबाइल फोनसँग गहिरो नाता पर्नजाँदा उनीहरूमा अरूको भावना बुझ्ने, आमने–सामने हुँदा असहज र गाह्रोसमेत हुने देखिएको छ । साथै कतिपय हिंस्रक मोबाइल गेमका कारणले गर्दा बालबालिका अरूको दु:खमा संवेदनशील नभएको सम्म देखिएको छ । भोलि, पर्सि गएर के हामी यस्तो समाज चाहन्छौं त ? यस्ता कुरा बच्चाहरूमा मात्र निहित नभएर आमाबुबा/ठूलाबडाहरूमा पनि त्यत्तिकै लागू हुन्छ ।

प्रतिक्रिया