Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment आज वि.सं. २०७५मङ्सिर १९ गते बुधबारको राशिफल हेर्नुहोस - Pnpkhabar.com

आज वि.सं. २०७५मङ्सिर १९ गते बुधबारको राशिफल हेर्नुहोस

रबि धिताल,
December 4, 2018

वि.सं. २०७५ मार्गशीर्ष १९ गते बुधबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३१ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, मार्गशीर्ष कृष्णपक्षको त्रयोदशी तिथि, दिउँसो १२:२६ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, विशाखा नक्षत्र, मध्यरात्रीपछि ०४:२७ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, बेलुका १०:२१ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, अतिगण्ड योग, मध्यरात्रीपछि १२:०४ बजेसम्म, त्यसपछि सुकर्मा योग, वणिज करण, दिउँसो १२:२६ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : धाता, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : पशुपतिनाथमा वालाचतुर्दशी मेला, रामेछापमा त्रिवेणी मेला, खोटांग हलेसी महादेव मेला, झापा सतासीधाम तथा अर्जुनधारामा मेला, बाला चह्रेपूजा

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : बाला चतुर्दशी, सद्बिज छर्ने दिन, दर्श श्राद्ध, निशि बार्ने दिन, २१ गते : स्नानदानादिका लागि औंसी (अमावस्या), हलो बार्ने दिन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ । मनोरञ्जन, खेलवाड र बेकारका कुरामा अल्मलिएर समय व्यतीत हुनेछ । प्रणय सम्बन्धमा चिसोपन देखिन्छ । सन्तति वा भाइबहिनीका समस्यामा घोरिनु पर्ने समय छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
वित्तीय पक्ष राम्रो छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । बोलीमा अंकुश लगाएको बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ । रोकिएका छुटपुट काम सम्पादनका लागि राम्रो समय नै छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक÷सामाजिक क्षेत्रमा समय दिन सकिन्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्रतिक्रिया