Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment काभ्रेमा ‘टकिङ टिचर’ बाट अङ्ग्रेजी शिक्षण - Pnpkhabar.com

काभ्रेमा ‘टकिङ टिचर’ बाट अङ्ग्रेजी शिक्षण

रबि धिताल

काभ्रेपलाञ्चोक, २ वैशाख : नयाँ शैक्षिकसत्रदेखि मण्डन देउपुर नगरपालिकाले आफ्नो नगरभित्रका विद्यालयमा बाल कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीका लागि अङ्ग्रेजी शिक्षण गराउन ‘टकिङ टिचर’ (बोल्ने किताब) को व्यवस्थापन गरेको छ ।

नगर प्रमुख टोकबहादुर तामाङले आफ्ना विद्यालयमा टकिङ टिचर अर्थात् ‘बोल्ने किताब’बाट अध्यापन गराउन हाललाई रु ४० लाख रकम सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा सुधार कार्यक्रमअन्तर्गत साना कक्षादेखि नै अङ्गे्रजी शब्दार्थ सिक्दै भाषामा पनि ज्ञान होस् भन्ने उद्देश्यले यो विधि लागू गरेका हौँ ।” नपा क्षेत्रभित्र २८ वटा आधारभूत, १२ वटा माध्यामिक, एक क्याम्पस र ४२ वटा बालविकास केन्द्र छन् ।

व्यक्तिले अङ्गे्रजी शब्द उच्चारण गरेपछि विद्युतीय डिभाइसले शब्दको उल्था गरी अर्थसमेत भन्ने प्रणाली प्रत्येक कक्षामा व्यवस्थित गरिएको छ । यो प्रणाली विद्यार्थीका लागि अतिरिक्त ज्ञान हो । यसका लागि नपा कार्यालयले गत सालको असोजमा ‘क्रियटिभ एडुटेन्टमेन्ट वल्र्ड’ नामक संस्थासँग सम्झौता गरेको थियो ।

बोल्ने किताबका टकिङ सेट, पेनड्राइभ, स्पीकर, चार्जर सामग्री हुन् । यस शिक्षा प्रणालीअन्र्गत बालकक्षाका प्रतिविद्यार्थीका लागि एक वटा र १ देखि ५ कक्षासम्म अङ्गे्रजी र नेपालीको दुई वटा किताब दिइने योजना बनाइएको छ । स्थानीय उमा सह–शिक्षालयका प्रधानाध्यापक शालिकराम श्रेष्ठले टकिङ टिचरको शिक्षण सजिलो र प्रभावकारी भएको बताउनुभयो ।

साना कक्षामा अङ्गे्रजी विषयका लागि अतिरिक्त पाठ्यसामग्रीका रुपमा प्रयोग गरिने यस प्रणालीका लागि नपा कार्यालयले प्रत्येक विद्यालयको कक्षा ५ सम्मलाई बोल्ने किताबका सबै सामग्री खरीद गरिएको नपाप्रमुख तामाङले बताउनुभयो । उहाँका अनुसार नपाले शिक्षा सुधारका लागि यस वर्ष रु एक करोड बजेट छुट्याएको थियो ।

नपा कार्यालयले यही शैक्षिकदेखि आफ्ना क्षेत्रको विद्यालयका विद्यार्थीलाई निःशुल्क पोशाक र कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्थापन गर्ने भएको छ । नपा प्रमुख तामाङले नपाले केही महीनादेखि शिक्षकको तलब मासिकरुपमा उपलब्ध गराउँदै आएको तथा नगरभित्रका सबै विद्यालयमा विद्युतीय–हाजिरी मेसिन र इन्टरनेटको व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया