Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment के यी बालक डाक्टर बन्न सक्दैन थिए ? - Pnpkhabar.com

के यी बालक डाक्टर बन्न सक्दैन थिए ?

मनिषा थापा,
September 25, 2018

पिएनपिखबर : सम्पन्न र विपन्न गरी दुई भागमा विभाजित भएको नेपाली समाजमा विपन्नले आफुलाई सानो र सम्पन्नले आफूलाई ठूलो भन्ने कमजोर मानसिकताले भरिएकोले समाज विकासका लागि हानिकारक ठानिन्छ।

समाजले नै बालबालिका बीच भेदभावको वातावरण सृजना गरेको पाइन्छ। धनीका बालबच्चा र गरिबका बालबच्चालाई समाजमा नै आकाश पाताल झैँ फरक व्यवहार गर्ने गरिन्छ।

समाजको बदलिदो परिवेश हेर्ने हो भने एकाध रुपमा क्षणभरमै अशोक दर्जी जस्ता ओझेलमा रहेका प्रतिभाले अवसर प्राप्त गरि बिद्यालय जाने अवसर प्राप्त गर्छन भने अन्य ओझेलमा परेका गरिब तथा जेहेनदार बालबालिका अन्धकारको भुमरीबाट उम्कन सकेका छैनन्।

अशोक दर्जी जस्तै प्रतिभा नभए पनि ती बालमजदुरहरुले जन्मसिद्ध रुपमा प्राप्त गरेको पढ्न पाउने अधिकार आधुनिक नेपाली समाजमा खुलेयाम रुपमा हनन भैरहेको छ। न त समाजले चासो दिन्छ न त सरकारले ! हरेक पक्षबाट उपेक्षामा परेका मजदुर बालबालिकाको चासो दिने कसले ?

इट्टा भट्टामा इट्टा पार्दै बालक/अवसर पाउने हो भने यी बालक डाक्टर बन्ने थिएनन होला ?

धनीका बच्चा जस्तै आफू पनि झोला बोकेर विद्यालय पढ्न जान कुन चाहि गरिबको छोराछोरीलाई मन नलाग्ला र ? सबै बालबालिकालाई त्यो खुसी नमिलेकै कारण बर्षेनी लाखौको संख्यामा कष्टकाबीच उनीहरु कठोर मजदुरी गर्न बाध्य छन् । ती मजदूर बालबालिकाकै भीडबाट एउटा सफल व्यक्तित्वको जन्म हुन पक्कै पनि सक्थ्यो तर चासो भने कसैले दिएका छैनन्। यतिसम्म कि सरकार समेत मुकदर्शक बनेर बसिरहेको छ।

चर्का र चिल्ला भाषण मात्रै गर्ने ठुलाठाला नेताहरुको घिनलाग्दो षडयन्त्रको शिकार बनेका धेरै मजदुर बालबालिकाको जीवन अन्धकारतर्फ धकेलिरहेको छ। एक त समाजमा अबहेलित बनेर बस्नुपरेको छ भने सरकारको बेवास्तासंगै एनजीओ र आइएनजिओको डलरमा रमाउने लहरले गर्दा कलकलाउदो उमेरमा अबोध बालबालिकाहरु कठोर परिश्रम गरेर दुई छाक मिठो खान र राम्रो लगाउन मजदुरी गर्नुपरेको बाध्यकारी अवस्था छ।

यो बाध्यता गरीबी, पारिवारिक बिछोड, परिवारको लहलहै, साथीभाइको संगत, प्रलोभनले गर्दा सिर्जना भएको हो । खासगरी इट्टा भट्टाहरुमा बाल मजदुरको अत्यधिक प्रयोग भएको पाउन सकिन्छ। यस्ता बाल मजदुरलाई परिवारले नै इट्टा भट्टामा काममा ल्याउने गर्छन।

इट्टा भट्टामा काम गर्ने बालमजदुरहरु आफुलाई अध्ययन गर्न रुची भएतापनि गरिबीको कारण परिवारको पेट पाल्नको लागि भएपनि काम गर्नुपर्ने बाध्यता रहेको पाइन्छ। राम्रो लाउने र मिठो खानको लागि भएपनि आफु इट्टा भट्टामा काम गर्न आफुखुशी आएको बालमजदुरहरु बताउछन। सहयोग गर्ने नाममा केहि संघसंस्थाले औपचारिकता मात्र पुरा गर्ने हेतुले बिभिन्न कार्यक्रम संचालन गरेतापनि प्रभावकारी भने हुन सकेको छैन।

इट्टा भट्टा मात्रै होइन गलैंचा उद्योग, होटलजस्ता ठाउँमा थुप्रै संख्यामा बालश्रमिकहरू काम गर्न बाध्य भएका छन् । उनीहरुको भबिष्य अन्धकारमय बनिरहदा सम्बन्धित पक्ष भने मौन बसिरहेको छ। सम्बन्धित सबैको यसतर्फ बेलैमा ध्यान पुग्नु जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू