Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता - Pnpkhabar.com

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

शर्मिला गुरुङ

काठमाडौँ, २६ जेठ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुग्नुभएका सभापति देउवाले आज बिहान दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले गोरखाको पहिचानलाई विश्वसामु चिनाउने धार्मिक महत्वसमेत बोकेको ऐतिहासिक स्थलको पुनःनिर्माणमा ढिलाइ हँुदा यहाँको पर्यटन विकासमा बाधा पुग्ने बताउनुभयो ।

“दरबार पुनःनिर्माण छिटो हुनुपर्छ”, सभापति देउवाले भन्नुभयो, “सरकारले पुरातात्विक महत्व बोकेका एतिहासिक क्षेत्रको विकासलाई प्राथामिकतामा राख्नु आवश्यक छ ।”

दरबार पुनःनिर्माणको अवस्था हेर्दा अत्यन्तै सुस्त गतिमा काम भएको पाइएको भन्दै उहाँले पुनःनिर्माणलाई तीव्रता दिन पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, “धर्म मान्ने र नमान्नेभन्दा पनि यो पर्यटनका हिसाबले समेत राम्रो सम्भावना बोकेको ठाउँ पनि हो, यसलाई लामो समयसम्म अलपत्र पारेर राख्नु हँुदैन ।”

सो अवसरमा सभापति देउवाले कालिका भगवती र गुरु गोरखनाथको मन्दिरमा पूजा गर्नुभयो । सो क्रममा उहाँले दरबार पूर्णरुपमा भत्काइएकाले नियमित पूजापाठमा भएका समस्याका बारेमा जानकारीसमेत लिनुभयो । उहाँले कालिका मन्दिर र गोरखनाथ मन्दिरमा नियमित पूजाका लागि सरकारले उपलब्ध गराउँदै आएको बजेटमा कटौती हुन नहुनेमा समेत जोड दिनुभयो । रासस

प्रतिक्रिया