दनुवार जातिको परिचय र जातीय इतिहास पृष्ठभूमि

रबि धिताल

दनुवार नेपालकोे तराईदेखि लिएर भित्री मधेसदेखि पहाडसम्म छरिएर लगभग ६२ वटा जिल्लामा बसोबास गरिरहेको र आफ्नै छुट्टै मौलिक सांस्कृतिक पहिचान भएको आदिवासी जनजाति हो । दनुवारको सघन बस्ती भएका जिल्लाहरूमा सिन्धुली, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, धनुषा, काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, उदयपुर, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी, बारा, पर्सा, मकवानपुरलगायतका हुन् भने नेपालका अन्य जिल्लाहरूमा पातलो बस्ती भएको पाइन्छ । वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार नेपालमा दनुवारहरूको सङ्ख्या ८४,११५ रहेको छ ।

जनसंख्या वास्तविकत ाभन्दा अत्यन्तै न्यून देखिनुको मूल कारणमा जनगणनामा खटिएका गणकहरूले अधिकारी, राय, राई, सिंह, ठाकुरजस्ता थरहरू मात्र लेखाउने दनुवारहरूलाई अन्य जातिमा गणना गरिनु र दनुवारहरूले पनि आफ्ना थर लेखाउँदा नामका पछाडि दनुवार नलेखाउनुले हुन गएको कुरा समितिको स्वीकार छ । सो जनगणनाले नेपालमा दनुवारको जनसंख्या वितरण निम्नानुसारको देखाएको छ ।

आदिवासी दनुवारभित्र मुख्य गरी रजहन, कछरिया, र राई दनुवार थरहरू पाइन्छ । रजहन दनुवार नेपालका तराई क्षेत्रका सिरहा, सर्लाही, धनुषा, महोत्तरीलगायतका विभिन्न जिल्लाहरूमा बसोबास गर्दछन् भने कछरिया दनुवार नेपालका सिन्धुली, उदयपुर, धनुषा, महोत्तरी, सर्लाहीजस्ता तराई र भित्री मधेसका जिल्लाहरूमा बसोबास गरेको पाइन्छ । राई दनुवार नेपालको काभ्रे, सिन्धुली, मकावानपुर, नुवाकोट, ललितपुर, धादिङजस्ता जिल्लाहरूमा बसोवास गर्दछन् । यसरी माथि उल्लेखित थरहरू समेटिएको जातिलाई नै दनुवार जाति भनिन्छ । यो जातिको आफ्नै भाषा रहेको पाइन्छ जसलाई दनुवारी भाषा भनिन्छ । दनुवारी भाषा भारोपेली परिवारअन्तर्गतको मागधी परिवारमा पर्दछ । यिनीहरूको मूल उत्पत्ति एउटै भए तापनि भौगोलिक बासस्थानका कारणले यिनका भाषा, पर्व, रहनसहन, संस्कार, खानपान, आदिमाथि केही प्रभाव परेको भए पनि मौलिक संस्कृतिमा खासै भिन्नता छैन ।

यो जाति विभिन्न थर÷उपथरहरूमा विभाजित भए पनि सबै प्रकृतिपूजककै रूपमा चिनिन्छन् र सबैका कुल, देवताहरू एकै प्रकारका देखिन्छन् । दनुवारहरूले मृतक शरीरलाई गाड्ने र जलाउने दुवै किसिमको मृत्यु संस्कार गर्दछन् भने विवाह संस्कारअन्तर्गत मागी विवाह र प्रेम विवाहजस्ता विवाह हाल प्रचलनमा पाइन्छ । प्रमुख चाडपर्वहरूमा डिहवार, डिहवार्नीको पूजा गर्ने, न्वागी पूजा गर्ने, कुशेऔंसी, माघेसंक्रान्ती, जितिया, विवाहपञ्चमीजस्ता प्रमुख चाडपर्वहरू मान्ने गर्छन् । जे–जस्ता चाडपर्वहरू माने तापनि विशेष गरी नदी–नाला, खोला, सूर्य, रूख, बिरुवाजस्ता प्राकृतिक पूजाहरूमा विशेष महत्व दिएको हुन्छ । यिनीहरूको मुख्य पेसा कृषि तथा पशुपालन हो भने सहायक पेसाहरूमा माछा मार्ने, घरेलु हस्तकला, बुनाइ, रहेका छन् । निजामती, प्रहरी, सेना राजनीतिक क्षेत्रलगायत शिक्षा तथा स्वास्थ्यजस्ता क्षेत्रहरूमा दनुवारको पहुँच कम भएको देखिन्छ ।

दनुवारहरू आफू नेपाल मण्डल (काठमाडौं उपत्यका) सुरुआत हुँदा बखतकै रैथानेवासी हौं भनी दाबी गर्दछन् । विभिन्न दनुवार इतिहासकारहरूले (हेर्नुहोस्ः राय दनुवार, २०६१, सिंह दनुवार, २०६१) मध्यकालीन सिमरौनगढ राज्यको राजा नान्यदेवका सन्तान भएको कुरा दाबी गरेका छन् । दनुवारहरू जे–जस्तो थर÷उपथर तथा समूहमा पाइए पनि यस प्रोफायलमा समग्र दनुवार जातिको अध्ययन गरिएको छ ।

दनुवार जातिको उत्पत्ति तथा नामकरणको इतिहास :
दनुवार जातिको उत्पत्तिको बारेमा हालसम्म कुनै स्पष्ट लेख्य इतिहास पाउन सकिएको छैन, जुन कुरा यस जातिको वास्तविकतासँग सम्बन्धित छ । त्यसकारण यस जातिको उत्पत्तिको इतिहास भनेको विगतमा विभिन्न व्यक्तिहरूले यस जातिसम्बन्धी गरेका अध्ययन–अनुसन्धान र बूढापाकाहरूको भनाइहरू नै प्रमुख स्रोतको रूपमा रहेका छन् । उनीहरूको भनाइअनुसार यो जाति नेपालको काठमाडौं उपत्यकामा वस्ती विस्तार भएदेखि बस्दै आएको थियो । पछि शिवदेव प्रथमले उर्दी जारी गरेपछि दनुवारलगायत अस्थारू दराई माझीजस्ता जातहरू त्यहाँबाट विस्थापित भई अन्यत्र बसाइँ सरेका थिए ।

कोहीको भनाइअनुसार सिन्धु उजाड भएपछि त्यो वर्गले पाकिस्तान, कास्मिर, पन्जाब, मैसुर तथा कर्नाटकसम्ममा बिस्तारै–बिस्तारै वस्ती बसाली मझौली राज्य स्थापन गरेका थिए । दनुवारहरूले चीनको ह्वाङहो नदीको किनारमा माछा मार्ने तथा खेतीपाती गरी आफ्नो जीविका चलाउने गरेका थिए । यसैगरी, केही बूढापाकाहरूको भनाइमा दनुवार जाति भारतको कर्नाटक प्रदेशमा भएको दोन नदी जहाँ हालमा सरयुग नदी बगिरहेको छ त्यसको किनारमा बसोबास गर्ने र नदीमा माछा मार्ने तथा खेतीपाती गरी खाने गरेकोबाट दनुवार सभ्यताको विकास भएको र त्यही जाति कालान्तरमा आएर बारा जिल्लाको सिमलै सिमलका रूख भएको घनाजङ्गलमा बसोबास गरी त्यस ठाँउमा आफ्नो राज्य सिम्रौनगढको रूपमा स्थापित गर्न सफल भएका थिए भन्ने भनाइ छ ।

पछि गएर इ. १३२५ तिर दिल्लीका सुल्तान गयासुद्धिन तुगलकले आक्रमण गरी पराजित बनाएपछि त्यही जाति त्यहाँबाट तराई हुँदै भित्री मधेस र पाहाडतिर भागी प्रायजसो नदी किनारमा बसोबास गरेको थियो भन्ने किंवदन्ती रहेको छ । पहाडतिर लागेका दनुवारहरू काठमाडौं उपत्यकाको भक्तपुरमा पनि राजकाज सम्हाली बसेको कुरा सुन्न पाइन्छ । तर, पछि विभिन्न कालखण्डमा सोझा र सरल स्वभाव भएका दनुवारहरूलाई अनेकौ कूटनीति र जालसाजी गरी अन्य जातिले पछाडि पारेको र आफ्नो मूल थलोबाट विस्थापित गरी नेपालका खोंच र पहाडतिर जान बाध्य बनाएका थिए । बूढापाकाहरूको यस भनाइबाट दनुवार जाति नेपालको आदिवासी जनजाति हुन् भन्ने प्रस्ट हुन्छ ।

वर्तमान समयमा यस जातिले आफूलाई द्रोणाचार्यका सन्तान भनेर चिनाउँदछन् भने कसैले पहाडको दून प्रदेशमा बसोबास गर्ने जाति हो भन्ने अर्थमा दनुवार भन्ने गरेको पाइन्छ । संस्क्रित भाषामा प्रचलित ‘द्रोनिवार’ शब्दको नेपाली रूपान्तर दनुवार भएको हो भन्ने मत धेरैले मानेको देखिन्छ । संस्क्रितमा ‘द्रोणी’ को अर्थ दुई पहाडको माझमा रहेको समथर क्षेत्र हो जुन नेपालको भित्री मधेस चुरे र महभारतको बीचमा पर्दछ । यही ‘द्रोणी’ शब्दबाट हिन्दीमा प्रचलित ‘दून’ शब्दबाट त्यहाँ बसोबास गर्ने समुदायहरू कालान्तरमा ‘दनुवार’ भनिए भन्ने तर्कहरू सुनिन्छ । बूढापाकाहरूका अनुसार मत्स्येन्द्रनाथले खाएर बाँकी रहेका दही दुनामा राखेर खोपामा छोड्दा केही दिनपछि त्यस दुनामा एउटा कन्याको जन्म भएको थियो, त्यही कन्याका सन्तान दनुवार हो भनी भन्ने गरेको पाइन्छ । केही बूढापाकाहरूले मध्यकालमा कर्नाटवंशी राजा मान्यदेवले डोय राज्यको रूपमा एउटा स्वतन्त्र राज्यको स्थपना गरेका थिए जसको नाम अपभ्रंश भई दनुवार हुन गएको हो भन्ने भनाइ छ । कसैले दनुवारलाई दलबार अर्थात् लडाकूको रूपमा रहेको एक जाति हो भन्ने गरेको पाइन्छ ।

द्रोणवार, दोनवार, दनुवार
यी शब्दहरू एकै जातिको नाम हो । भाषामा मात्र फरक पाइन्छ, जस्तै– संस्क्रित र मैथिलीमा द्रोणवार भन्दछन् भने हिन्दीमा दोनवार अनि नेपाली भाषामा दनुवार भनिन्छ । यसबाट के प्रस्ट हुन्छ भने यी सबै शब्दहरूले एउटा मात्र जाति दनुवारलाई जनाउँदछ ।दनुवार जातिलाई जनाउने शब्द विगतमा लेखकले ठाउँ र प्रसंगअनुसार फरक–फरक रूपमा प्रयोग गरेको पाइन्छ । जसले गर्दा शब्दअनुसार केही भ्रमहरू पनि सिर्जना भएको कुरदनुवारहरू स्विकार्दछन् । यस जातिलाई विभिन्न लेखकहरूले देनवार, दलवार, द्रोणवार, दुनवार, ओइनवार र दनुवार शब्दको प्रयोग गरेको पाइन्छ ।

यस्तो हुनुको कारण विभिन्न समयमा अनुसन्धान गर्ने व्यक्तिहरू सबै दनुवार वस्तीहरूमा नगई केवल सीमित गाउँ वा ठाउँमा गएर त्यहींको परिवेशको आधारमा दनुवार शब्दलाई प्रयोग गरेको हुनाले अनुसन्धानपिच्छे नयाँ शब्द देखापरेको हो भनेर दनुवार जागरण समितिको भनाइ छ । जसले शब्दअनुसार जात पनि फरक हो कि भन्ने भ्रम सिर्जना गरेको थियो । वास्तवमा त्यस्तो नभई माथिका सबै शब्दहरूले एउटै दनुवार जातिलाई बुझाउँदछ ।

प्रतिक्रिया