Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment दशै विशेष : मासु खानु अघि यी कुरामा हुनुहोस सावधान ! - Pnpkhabar.com

दशै विशेष : मासु खानु अघि यी कुरामा हुनुहोस सावधान !

मनिषा थापा,
October 12, 2018

नेपालीहरुको महान चाड दशै लागि सकेको छ। सामान्यतया दसैंमा नै अरु बेलाभन्दा बढी मासु खाइन्छ । हिजोआज धेरैले मासुसँग मदिरा पनि पिउँछन् । मासुलाई पोसिलो र स्वस्थकर खानेकुराका रुपमा लिइन्छ ।

१ सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन ४ देखि ५ ग्राम चिल्लो पदार्थ, १ देखि १ दशमलव ५ ग्राम खनिज पदार्थ, ६० ग्राम पानी तथा भिटामिन ए, बी, सी आदि पाइन्छ ।

त्यसैले दैनिक ३० देखि ५० ग्राम मासु खानुलाई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक भनिन्छ । तर मासु खाएकै कारण बिरामी पनि पर्न सकिन्छ । नियमित रुपमा मासु खाने व्यक्तिमा मोटोपनको समस्याका साथ उच्च रक्तचाप, मुटु रोग तथा आन्द्रा र कलेजोमा खराबी पनि हुन सक्छ ।

दसैंको तीन–चार दिन मासु खाँदैमा मुटु, मृगौला अनि अन्य दीर्घकालीन रोग लाग्ने सम्भावना हुँदैन तर यस किसिमका रोगीलाई भने थप असर पर्न सक्छ । त्यस्तै अस्वस्थ्य र असुरक्षित मासु एक पटक खाए पनि त्यसले विभिन्न सरुवा रोग लगाउन सक्छ ।

मासुमा विभिन्न किसिमका जुकाका अण्डा, जुकाका भाग, सूक्ष्म परजीवी र मन्द विषादी (फुड पोइजन) हुन सक्छ । यस्ता हानिकारक तङ्खव नष्ट गर्न मासुको भण्डारण र पकाउने तरिकामा ध्यान दिनुपर्छ । रोगबाट बच्न सबैभन्दा पहिले स्वस्थ खसी छान्नुपर्छ । दुब्लो, मरन्च्यासे, थकित देखिने, पखाला चलेको तथा बिरामी खसी कहिल्यै रोज्नु हुदैन ।

राम्रोसँग पकाए मासुमा रहेका हानिकारक जीवाणु नष्ट हुन्छन् तर कम पकाएको मासुमा त्यस्ता जीवाणु रहिरहन्छन् जसले रोगी बनाउन सक्छ । धेरै मोटो तथा बोसो भएको खसी पनि रोज्नु हुँदैन । धेरै मोटो खसीमा ३० प्रतिशतसम्म बोसो हुन सक्ने भएकाले त्यस्तो मासुले पाचनक्रिया, मुटु तथा दीर्घरोगीहरुमा प्रतिकूल असर गर्छ ।

खसी मार हान्ने वा मासु तयार गर्ने ठाउँको सफाइमा पनि ध्यान पु-याउनुपर्छ । यस्तो ठाउँ सतह मिलेको, जमिनलाई नछोएको तथा सफा गर्न मिल्ने हुनुपर्छ । सामान्यतया खसीको मासु पखाल्ने चलन छैन तर मासुलाई सफा पानीले पखाल्नु राम्रो हुन्छ ।

धेरै परजीवी बस्ने ठाउँ तथा आन्द्राको सफाइमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै छालाको बाहिरी तहमा भएका रौंका जरामा विभिन्न हानिकारक तङ्खव तथा फन्जाइहरु हुन सक्छन् । त्यसैले छालाको सफाइमा पनि पर्याप्त ध्यान दिनुपर्छ । छालाको तल्लो सतहमा पातलो बोसोको तह हुन्छ । त्यसमा कोलेस्ट्रोल (एक किसिमको चिल्लो पदार्थ बढी हुने भएकाले मोटा मानिसले छाला खानु हुँदैन । दसैंको मासु एकै दिनमा सकिँदैन ।

त्यसैले मासुलाई भण्डार गर्नैपर्छ । मासु चुलोको छेउमा झुन्ड्याएर राख्ने चलन छ । मासुलाई पाँच डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्छ । त्यसैले भए फ्रिजमा नभए झिँगा नभन्किने, मुसा नलाग्ने, सुख्खा तर चिसो ठाउँमा राख्नुपर्छ ।

कलेजो, मुटु, फोक्सो जस्ता नरम मासु भण्डार गर्न सुख्खा बनाउनुपर्छ । अन्यथा लामो समय भण्डारण गर्नु हुँदैन । धेरैलाई मासु खाएपछि पखाला लाग्छ कि भन्ने चिन्ता हुन्छ । तर मासु सजिलै पच्ने खानेकुरा हो । त्यसैले मासु खाएर पखाला चल्ने अथवा अपच हुने हुँदैन । मासुमा धेरै तेल, मसला प्रयोग गरियो, मासु अस्वस्थ र असुरक्षित छ भने पेटको गडबडी हुन सक्छ ।

त्यसैले धेरै चिल्लो, मसालेदार मासुको परिकार बनाउनु वा धेरै फ्राई गर्नु राम्रो होइन । अत्यधिक मात्रामा मासु, अचार तथा चिल्लो–पिरो र त्यसमाथि मद्यपानका कारण पेट ढाडिन, दुख्न, अपच हुन, मुखमा अमिलो पानी आउन तथा कसैकसैलाई पखाला लाग्न सक्छ ।

बालबालिका, युवा तथा वयस्कले जति मासु खाए पनि चिन्ता गर्नु पर्दैन । तर वृद्धहरुको पाचनप्रणाली केही कमजोर हुने भएकाले छाला एवं बोसोरहित मासु राम्रोसँग पकाएर खान दिनुपर्छ । उनीहरुलाई बढी मसलेदार तथा चिल्लो नबनाई सादा र सामान्यभन्दा बढी पकाएर खुवाउनुपर्छ । अधिकांश वृद्धमा जोर्नीको पीडा हुन्छ ।

जोर्नीको पीडा हुने कारण बाथ र ओस्टियोआर्थराइटिस हो । आस्टियोआर्थराइटिसका रोगीले मासु (क्याल्सियम) खानु राम्रो हो । तर रगतमा युरिक एसिड बढी भएर हुने जोर्नीको पीडा बाथका रोगीले मासु, गोलभेंडा तथा गेडागुडी खानु हुँदैन । सबैको घरमा पाइने र त्यसका लागि वृद्ध हुनु नपर्ने रोग हो– मधुमेह अर्थात् डायबिटिज । त्यस्तामा बढी बोसो, कोलेस्ट्रोल हुने हुँदा खसीको मासु नखानु नै उपयुक्त हुन्छ ।

चाडबाडमा अलिकति मासु खाँदैमा नराम्रो भैहाल्ने भने होइन । त्यसैले मधुमेह तथा उच्च रक्तचाप वा मुटुको समस्या भएकाहरुले पनि बोसोरहित मासु वा खसीको भन्दा पनि कुखुराको मासु वा माछा रोज्नु उपयुक्त हुन्छ । मृगौला रोगीले मासुका परिकार तथा नुन बढी प्रयोग गरिएका अन्य परिकार पनि नखानु नै राम्रो हो । त्यस्तै कलेजो कमजोर भएका, जन्डिस भएका बिमारीहरुले बोसो कम भएको र चिल्लो, मसला नहाली उसिनेको मासु थोरै खाँदा हुन्छ ।

मासु र मद्यपान एक–अर्काका पूरक भैसकेको छ । सामान्यतयाः ३० ग्राम इथानोल अर्थात् ७ सय मिलिलिटर बियर, ३ सय मिलिलिटर वाइन वा ६० मिलिलिटर ह्वीस्कीले पुरुषलाई र त्यसको आधा पिउँदा महिलाको मुटुलाई असर पर्दैन तर यो मात्राले पेटको खराबी, दिमागमा असर, अन्य ग्रन्थीहरुमा असर तथा रोगविरुद्ध लड्ने शक्तिमा कमी ल्याउँछ ।

अझ मसलेदार तथा चिल्लो–पिरो मासुका परिकारसँग मद्यपान अर्थात् रक्सी, बियर, वाइन एवं ह्वीस्की प्रयोग गर्नाले पेट तथा कलेजोमा असर गर्छ । यस्ता मानिसमा पेटको अल्सर तथा क्यान्सर, रक्तअल्पता, दुर्बलता, प्याङ्क्रियाजको समस्या हुन सक्छ । त्यसैले चाडबाडको आडमा वा अन्य कुनै बहानामा मद्यपान गर्नु राम्रो होइन । मासुका परिकारसँग हरियो सलाद, फलफूल तथा अन्य प्राकृतिक रेसाहरु भएका खानेकुरा खानाले स्वास्थ्यमा पर्ने असर केही कम गर्न सहयोग पुग्छ ।

प्रतिक्रिया