देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

रबि धिताल

चितवन, २९ माघ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । देवघाटमा रहेको महेश सन्यास आश्रमले आयोजना गरेको विराट ज्ञान महायज्ञलाई आज सम्बोधन गर्दै सबै क्षेत्रबाट देवघाटको पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले धर्मको अतिक्रमण रोक्नका लागि आवश्यक प्रयास नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सभ्यता हिन्दू र बौद्ध हो, मैले गाउँगाउँमा गएर धर्म संरक्षणका लागि पहल गरिरहेको भए पनि विस्तारै हाम्रो पहिचान मेटिँदै गइरहेको छ ।” धर्म संरक्षणका लागि एक हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । संविधानलाई बाङ्गो अर्थ लगाएर हिन्दू धर्ममाथि आक्रमण भएको भन्दै उहाँले धर्म संरक्षणका लागि सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको महायज्ञ फागुन १ गतेसम्म चल्नेछ । महायज्ञमा १०८ श्रीमद्भागवत पाठ पारायण भइरहेको छ । चारै वेद, विभिन्न पुराणहरुको पाठ पारायण, शक्तिको आराधना र ब्रह्म गायत्रीद्वारा विधिपूर्वक लक्ष हवन भइरहेको महायज्ञ मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताउनुभयो । महायज्ञमा स्वदेश र विदेशबाट ठूलो सङ्ख्यामा सन्त, महन्त र भक्तजन आउने क्रम जारी छ । आश्रमले सञ्चालन गरेको गुरुकुल सञ्चालनका लागि महायज्ञ आयोजना गरिएको हो ।
-रासस

प्रतिक्रिया