Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment बजेट कार्यान्वयन प्राथमिकतामा : मन्त्री केसी - Pnpkhabar.com

बजेट कार्यान्वयन प्राथमिकतामा : मन्त्री केसी

रबि धिताल

रुकुम पश्चिम, २८ पुस : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बजेट कार्यान्वयन प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सदरमुकाम मुसिकोटमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री केसीले प्रदेश सरकारको ध्यान बजेट कार्यान्वयनमा रहेको बताउनुभयो । विनियोजित बजेट कार्यान्वयन सरकारको प्रमुख चुनौती भएकाले कार्यान्वयनलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री केसीले आगामी योजना निर्माण गर्दा रु एक करोडभन्दा कमका योजना नबनाउने प्रदेश सरकारको तयारी रहेको बताउनुभयो । “सानासाना योजनामा बजेट हाल्दा प्रगति नदेखिने भएकाले रु एक करोडभन्दा माथिका योजना मात्र बनाउने तयारी छ,” उहाँले भन्नुभयो । प्रदेशमा योजना आयोग बनिसकेकाले योजना बनाउन सजिलो हुने उहाँको भनाइ थियो । प्रदेश सरकारले रुकुम पश्चिमका लागि रु एक अर्बभन्दा बढी बजेट विनियोजन गरेकाले उक्त बजेट कार्यान्वयनमा सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
-रासस

प्रतिक्रिया