बाढीले बाँध भत्कियो

राष्ट्रिय समाचार समिति

सप्तरी, २७ असार: बिहीबारदेखि लगातार परेको वर्षाले खाँडो खोलामा बाढी आउँदा तिलाठी कोइलाडी गाउँपालिका–१ मा बनाइएको बाँध दुई ठाउँमा भत्किएको छ । तिलाठीका गाउँ बस्ती जोगाउन बनाइएको बाँध दुई ठाउँमा पाँच÷पाँच फिट भत्किएर बाढी बस्तीमा पसेको वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले बताउनुभयो । बस्तीमा पानी पसेर पाँच घर डुबानमा परेका छन् । दिउँसो वर्षा रोकिएपछि पानीको बहाब कम भई बस्तीमा पसेको पानी समेत कम भएको स्थानीय खोजेन्द्र मिश्रले जानकारी दिनुभयो ।

कटान भएको बाँध मर्मत सम्भारका लागि गाउँपालिकाले ३०० बोरा र दुई वटा जाली उपलब्ध गराएको स्थानीय राजेश झाले जानकारी दिनुभयो । स्थानीयवासी र प्रहरी कटान भएको बाँधको मर्मत सम्भारमा जुटेकाले अहिले खतरामुक्त रहेको उहाँले बताउनुभयो ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका दुई वटा वडा जलमग्न भएका छन् । राजविराज नगरपालिकाको वडा नं. १, ९ र १० का साथै विभिन्न गाउँ जलमग्न भएका छन् । असार मसान्तमा बाटो मर्मतका लागि माटो राखिएकाले वर्षापछि सिरहा सडक, कुनौली सडक र कञ्चनरुप सडक हिलाम्मे भएर आवतजावतमा कठिनाइ भएको स्थानीय घनश्याम झाले बताउनुभयो । वर्षा शुरु भएकाले सम्भावित बाढीबाट जोगिन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आग्रह गर्नुभएको छ ।रासस

प्रतिक्रिया