Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment 'मैले गुमाइसकेको बुवालाई फिर्ता मागेको होइन, मलाई न्याय चाहियो सरकार' (विचार) - Pnpkhabar.com

‘मैले गुमाइसकेको बुवालाई फिर्ता मागेको होइन, मलाई न्याय चाहियो सरकार’ (विचार)

पूजा बानियाँ
  • संगीता आचार्य

काठमाडौँ: न्यायका लागि दौडीरहँदा मेरा पैताला थाकिसकेका छन् । रुँदारुँदै आखाँमा आँशु सकिएको छ । न्याय देउ भन्दै कराइरहँदा आवाज सुक्न थालेको छ । तर पनि आजसम्म मैले र मेरो परिवारले अलिकति पनि न्यायको आभास गर्न पाएका छैनौ। आज भन्दा ६५ दिन अगाडी (२०७५ फाल्गुन १८ गते शनिवारका दिन) मेरो बुबा चन्द्र प्रसाद आचार्य (जैसी)को प्रदेश नम्वर ६ को राजधानी वीरेन्द्रनगरको बिच बजार बुद्धपथमा कसैले निर्ममतापूर्वक हत्या गरी बिच बाटोमा शव फालेको अवस्थामा (प्रहरीका अनुसार) नेपाल प्रहरीका इन्स्पेक्टर डिल्लीराज सापकोटाको कमाण्डमा हिंडेको मोवाइल टोलीले शव भेटी प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगेको थियो ।

घटना घटेको २ महिना बितिसक्दा पनि मेरो बुवाको हत्या कसले र किन गरेको हो भन्ने कुरा हामी माँझ आउन नसक्दा पिडा माथी पिडा थपिएको छ । ४५ वर्षको उमेरमै विधवा बनेकी मेरी आमा र यो अवस्थामा हामी सन्तान टुहुरा भएका छौ । एउटा श्रीमतीको श्रीमानसँग सँगै जिउने अनेकौ सपनाहरु सिउँदोको सिन्दुर र नारीका चुरा जस्तै पुछिएका छन्, टुटेका छन् । हामी छोराछोरीका लागी सहि र गलतको मार्गदर्शन दिनुहुने मार्गदर्शक हर सुख र दुःखमा म छु त भनेर खडा हुने खम्वा भाचिएको छ । मेरो परिवारको मुख्य विम्ब भत्किएको छ । हाम्रो अगाडी बढ्ने खुट्टा भाचिएको छ । यो सब हुनुको पिडा माथी हामी परिवारमा बुवाको हत्यारा पत्ता नलाग्नुको पिडा अझ विकराल बनेर बसेको छ ।

आज भन्दा ६५ दिन अगाडी गत फाल्गुन १८ गते शनिवारका दिन आफ्नो चिया नास्ता पसल (क्यान्टिन) बन्द हुने भएकोले मेरो बुवा आमा आफन्त भेट्न भनेर बिहान १० बजे तिर आफ्नो खाजा घर (वीरेन्द्रनगर ६ जुम्लारोडमा थियो ।) बन्द गरेर निस्कनु भएको थियो । दिनभर आफन्त भेटेर दिउसो करिब ३ बजेतिर वीरेन्द्रनगर १ बाङ्गेसिमल (मेरो मामाको घर) बाट मम्मीलाई तिमिलाई खासै सञ्चो पनि छैन तिमी टेम्पोमा सिधै पसल जाउ म घरमा (वीरेन्द्रनगर १ त्रिपुरेश्वर) गएर नागरिकता लिएर भोली बिहानको लागी पसलमा चाहिने तरकारी लिएर आउँछु तिमी रोटी तरकारी बनाएर बस्नु भन्दै मम्मीलाई पसल पठाएर आफु घरतिर लाग्नुभयो । घरमा गएर नागरिकता खोज्नुभयो र आफन्तहरु भेट्दै साँझ करिव ६ बजेतिर घरबाट पसलको लागि निस्कनुभएको थियो । बाटोमा पर्ने सबै आफन्तहरुलाई भेट्दै भोलिपल्ट विहानको लागि तरकारी किनेर निस्कदासम्म करिव ८ बजिसकेको थियो । ८ बजे सम्म सकुशल भएको मेरो बुवा १०ः०३ मा वीरेन्द्रनगर ६ बुद्धपथमा रहेको अतिथी होटलको अगाडी मृत अवस्थामा नेपाल प्रहरीले फेला पारेको थियो ।

मेरो बुवाको हत्या नै भएको हो भन्ने विषयमा म लगायत मेरो परिवारले भोलिपल्ट १९ गते आइतबार बिहान मात्रै खबर पायौ । म र मेरो दाजु अध्ययनको सिलसिलामा काठमाडौँ बस्दै आइरहेका छौ । घटना हुने दिन पनि हामी काठमाडौँमा नै थियौ । १९ गते विहान मामा (वलिराम अधिकारी) ले फोन गरेर बुवा आइसियूमा हुनुहुन्छ । मैले प्लेन टिकट भनिदिएको छु । तिमिहरु तुरुन्त घरमा आउ भनेपछि मेरो दाजु र म सुर्खेत गयौं । हामी एयरपोर्टबाट सिधै घरमा गयौ। घरमा पुग्दा आमा भावविह्वल अचेत अवस्थामा हुनुहुन्थ्यो। बेलाबेलामा मलाइ र यति प्यारा छोराछोरी छोडेर कहाँ जानुभयो ? अब यिनले के गर्लान् ? मैले कसको मुख हेरौला भन्दै भक्कानिदै रुँदै हुनुहुन्थ्यो । विरामी बुवा भेट्न गएका हामी दाजु बहिनी एकाएक टुहुरा भयौ । हामी माथि बज्रपात पर्यो हाम्रो खुसी एकैछिनमा सदाका लागी खोसियो, संसार अँध्यारो भयो ।

हामी दिनभर आमालाई सम्हालेर घरमै बस्यौ । साँझ करिव ५ बजेतिर मेरो बुवाको शव घरमा ल्याएर आँगनमा राखिदिए । त्यो समयमा बुवाको शव देखेर भन्दा पनि बुवाको रगताम्य अनुहार देख्दा झनै सहनै नसकिने पिडा भयो । त्यतीबेला सम्म कसैले पनि तेरो बुवाको कसैले हत्या गरेको हो भन्ने कुराको जानकारी दिएका थिएनन् । पोष्टमार्टम् गर्दा समेत घरपरिवारका सदस्यहरुको गैरहाजिरिमै प्रहरी प्रशासन, राजनितिक दलका नेता भनाउदाहरु, गाउँका ठूला भनाउदाहरु र बुद्धिजिवी भनाउदाहरुको दबावमा गरिएको रहेछ ।

बुवाको टाउकोको अगाडी र पछाडीको भागमा दुइवटा गहिरो घाउ देखिन्थ्यो। चक्कु, रड वा कुनै धारीलो हतियारले प्रहार गरेजस्तो देखिन्थ्यो । त्यसै दिन हतारहतार गरेर बुवाको शवलाई जलाउनको लागि आफन्तहरुले दबाव दिनुभयो । भोलिपल्ट देखिनै आफुहरु सबै मिलेर हत्यारा खोज्नुपर्ने र एक रात शव घरमा राख्दा प्रहरी प्रशासनलाई दवाब दिन ढिलाई हुने भन्दै मेरो बुवाको मृत शरिरलाई कति बेला मर्छ र लगेर जलाउला भन्ने हतार भए जस्तै गर्नुभयो आफन्तहरुले । समाज र आफन्तहरुको अगाडी मेरो र मेरो दाजुको कुनै कुरा सुनुवाई भएन । आखिर रातारात गरेर राती ११ बजे बुवाको अन्त्यष्टि कार्य सकियो । घटना घटेको तेस्रो दिन पछि मैले आफुलाई सम्हाल्नुपर्ने सोचेर हुनु भयो म जस्तो पढेलेखेको छोरी हुँदाहुँदै बुवालाई र परिवारमाथी भएको अन्याय हुन दिनु म ज्युँदै मरेतुल्य थियो । मैले आफ्नो पहुँचले भ्याएसम्म सबै ठाउँमा हारगुहार गर्न थाले । कतिपयले धेरै साथ दिनुभयो भने कतिपयले सुनेको नसुन्यै गर्नुभयो । हिन्दु परम्परा अनुसार काजक्रिया गर्यौ । यहि बिचमा समय समयमा प्रहरी इन्स्पेक्टर डिल्लीराज सापकोटा र जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रवक्ता प्रदिप कुमार क्षेत्री घरमा आउनु भयो र बुवाको आचरण वा कसैमाथि शंका छ कि भन्दै सोध्नुभयो र हामीले कसैसँग केही दुस्मनी नभएको भनेपछि फर्किनुहुन्थ्यो । सोही क्रममा इन्स्पेक्टर र डिएसपीले चिन्ता नलिनुहोस्, घटना १०० मिटरको पेरिफेरी भित्रैको हो। तपाईंहरु क्रियाबाट निस्किदासम्म हामी अपराधीलाई कानुनी दायरामा ल्याउछौ भनेर आश्वासन समेत दिन भ्याउनु भयो ।

१३ दिनको काजक्रिया सकियो तर बुवालाई कसले र किन मारेको रहेछ भन्ने कुरा हामीमाझ आउन सकेन । १४ दिनको दिन देखी हामी दिनहुँ जसो प्रहरी प्रसाशनको समक्ष धाउन थाल्यौ । आफ्नो श्रीमानको ४५ दिनको बरखी बसेकी मेरी आमा नाङ्गा पैतालामा सेतो कपडा बेरेर जिल्ला प्रहरी कार्यालय जानुहुन्थ्यो । हामीले प्रहरीसमक्ष के भइरहेको छ भनेर सोध्दा उहाँहरुले रुखो जवाफ दिएर सधै एउटै जवाफ आइरहन थाल्यो, ‘हामी गर्दैछौं नआत्तिनुहोस् हामी पत्ता लगाउछौ ।’ डेढ घण्टाको बाटो हिडेर जिल्ला प्रहरी कार्यालय पुग्ने हामी त्यही तीन शब्द सुनेर फर्किन बाध्य छौ अझै पनि । किन ढिलाई भएको कतै प्रहरीकै मिलेमतो त छैन भनेर सोध्दा प्रहरी इन्स्पेक्टर निरञ्जन घिमिरेले तपाईहरुले यस्तो कुरा गर्नुभयो भने हामी तपाईहरुको केस यत्तिकै डिसमिस गरिदिन्छौ समेत भन्नुभयो । हामीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपि एवम् प्रवक्ता प्रदिप कुमार क्षेत्रीले पनि कहिल्यै चित्त बुझ्दो जवाफ दिनु भएन । उहा यस केसको छानविन समितिको अध्यक्ष समेत हुनुहुन्छ ।

बुवाको हत्या भएको २० दिन पछाडी २०७५ चैत्र ९ गते देखी मेरो स्नातकोत्तर दोस्रो सेमेस्टरको परिक्षा भएकोले घटना घटेको १७ औं दिनमा म काठमाडौँ आए । ध्यान सबै घरमै हुन्थ्यो, आमाको अनुहार घरको अवस्था डेढ महिना मात्रै वर्तमान सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसाथ गर्दै घरको आर्थिक अवस्थालाई केही भए पनि उकास्नको लागी कामको सिलसिलामा दक्षिण कोरिया गएको मेरो भाइको यादले सताउथ्यो । त्यो सबै भन्दा ठूलो पिडा बुवा गुमाउनु र न्याय नपाउनुको थियो । २०७५ चैत्र १९ गते परिक्षा सकियो। अनि चैत्र २० गतेबाट सुरु भयो मेरो न्यायको दौडाई । चैत्र २० गते म प्रहरी कार्यालय टेकु र राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवन पुगे । २१ गते सर्वाेच्च अदालतका अधिवक्ता सँग भेट्न गए ताकी भोली म अदालती प्रक्रियामा गए भने कसरी र के गर्ने भन्ने कुराको जानकारी लिन । २२ गते एपि वन न्यूज यात्रामा एउटा अन्तरवार्ता दिए। २३ गते पनि ३ वटा सञ्चारमाध्यममा न्यायका लागी आह्वान स्वरुप अन्तरवार्ता दिए। २३ गते नै अहिलेको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगको अफिसमा पुगे। त्यहाँबाट स्थानिय पत्रकारलाई खबर गर्नुहोस् भन्ने जवाफ लिएर म सोही दिन सुर्खेत लागे । त्यहाँ पुगेर पनि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय जुम्लामा समेत घटनाको विस्तृत विवरण इमेल गरि सुर्खेतमा मानव अधिकारको लागि हेरिरहेको संस्था इन्सेकमा पनि गए । प्रहरी कार्यालय त हामी दिनहु जसो पुगिरहेका हुन्थ्यौ । दिन महिनामा परिणत भए तर मेरो बुवाको हत्या कसले र किन गर्यो भन्ने कुरा हामी माझ आउन नसक्दा हामीले स्थानिय सञ्चारमाध्यमहरुको साहारा लियौ । चैत्र २५ गते स्थानिय पत्रकार सम्मेलन गर्यौ । भोलिपल्ट सबै स्थानिय मिडियामा व्यापारी चन्द्र प्रसाद आचार्यकोे हत्या डेढ महिना पुग्दा पनि रहस्यमै, राजधानी भित्रको हत्या प्रकरण डेढ महिना सम्म पनि रहस्यमय, व्यापारी चन्द्र प्रसाद आचार्य हत्या प्रकरण गुमनाम बन्दै जस्ता शिर्षकमा खबरहरु पनि छापिए ।

अब त केहि हुन्छ कि भन्ने आशा पलायो यी विभिन्न शिर्षकका समाचार हेर्दा । घटनाको ४१ औं दिनका दिन हाम्रो केस हेर्न प्रदेश प्रहरीबाट प्रहरी नायब उपरिक्षक पवन कुमार भट्टराई सहित केन्द्रिय अनुसन्धान व्युरोका सदस्यहरु पुग्नुभयो । उहाँहरुले हाम्रो केसमा अलिक धेरे नै लचिलोपना देखाउनुभयो । फेरी हाम्रो परिवारमा केहि आशा पलायो अब त हत्यारा पत्ता लाग्छ कि भन्ने । तर यो आश आजसम्म केहि कुरा बाहिर नआउँदा निराशामा परिणत हुँदैछ र दिनदिनै कमजोर बन्दैछु म ।

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेकी म आज पढाई लत्याएर न्यायका लागि भौतारीरहेकी छु । एक दिनको कक्षा छुट्दा करिव ३ नम्वर बरावरको प्रयोगात्मक नम्वर घट्छ । काठमाडौँको शहरमा मेरो आफ्नो कोही नभएपनि मेरो बुवाको आत्मवलले म विश्वविद्यालय पढिरहकी थिए । घरको आर्थिक अवस्था कमजोर भएकैले मैले ‘पार्टटाइम जब’ गरेर आफ्नो पढाई अगाडी बढाइरहेकी थिए । आज मसँग न पढाई छ न मेरो आत्मवल बढाउने मेरो बुवा हुनुहुन्छ न त मेरो जागीर नै । त्यसमा पनि न्यायका लागि दौडिरहँदा घाइते भएको भारी मन, म भित्र भित्रै गलिसकेकी छु । मेरो बुवाको आत्मालाई शान्ती र परिवारलाई न्याय दिलाउन म मेरो पहुँचले भ्याए जति ढोकामा पुगेकी छु तर पनि मेरो सुनुवाई हुँदैन र मैले न्याय पाउन सकेकी छैन । परिवार पाल्न र छोराछोरी पढाउनकै लागि अर्काको जुठो भाँडा माझेर गुजारा गर्नुभएको मेरो बुवा जो हाम्रो परिवारको एकमात्र यस्तो व्यक्ति हुनुहुन्थ्यो जसको भरमा पुरा परिवार थियो ।

सानो जागीर गरेको मेरो दाई (तिलकराज आचार्य) लाई पनि यो जागीरले केही हुँदैन। काठमाण्डौ गएर अध्ययन गर म यहाँ सम्हाल्छु भन्नुभएको मेरो वुवाले घरव्यवहार चलाउने व्यवसाय गर्दा र भाईलाई पठाउँदा लागेको करिव १३ लाख ऋणको बोझ पनि आफै उठाउनु भएको थियो । बुवाको देहावसान भएको दिन देखि नै परिवार तहसनहस भयो। ऋणको भार हामी पढ्दै गरेका छोराछोरीको टाउकोमा थोपरिएको छ । एक जोर लुगा र एक छाक खानकै लागी मुस्किल परिस्थितमा छौ हामी । व्यवहार त कुनै दिन सुधार्न सकिएला तर न्याय नपाउँदा आफु यति पढेलेखेकी हुँदा पनि बुवाको आत्मालाई शान्ति दिन नसकेकोमा आत्मग्लानी हुन्छ । हत्यारा पत्ता नलाग्दा सम्म मेरो मनमा सधै आत्मग्लानीको अनुभूति भइरहनेछ । मरिसकेको मेरो वुवालाई फर्काउन सक्दिन होला तर उहाको मृत आत्मालाई शान्ति मात्रै दिन सकेकी भए म छोरी भएको सार्थकता हुने थियो । म थाकेकी छैन अझै पनि लडिरहने छु । न्यायका लागी चिच्याइरहने छु । हत्यारालाई कानुन बमोजिमको कारवाही नहुञ्जेल म अस्ताउने छैन । बुवा तपाईकी छोरीले आफ्नो प्राण रहुञ्जेल तपाईलाई न्याय दिन लड्नेछु , कहिल्यै विचलित हुनेछैन ।

प्रहरी प्रशासनले यस घटनाको सुरुवाती चरणमा नै केहि कमजोरी गरेको छ। बुवाको शव उठाउँदा कोहि आफन्तजनहरुलाई खबर नगरी उठाइयो । बुवाको शवलाई सिधै पोष्टमार्टम् घरमा लगेर राखीसकेपछि मात्रै खबर गरिएको थियो । घटनाको मुचुल्का घटना घटेको भोलिपल्ट फाल्गुन १९ गते बिहान ८ः०० बजे मात्र घटनास्थलमा गई मुचुल्का उठाइएको थियो । बुवाको पकेटमा भएको हाम्रा आफन्त महेन्द्र प्रसाद शर्माको सम्पर्क नम्बरमा राति १ः०० बजे मात्रै सम्पर्क गरिएको थियो जबकी बुवाको शव प्रहरीका अनुसार उनीहरुले १०ः०३ मा भेटेका थिए । घटनास्थलमा भोलिपल्ट १०ः०० बजे पछि मात्रै खानतलासी र सोधीखोजी कार्य गरिएको थियो । हामीले शंका लागेका व्यक्तिहरु अतिथी होटलका कुक यामलाल गौतम र मेनेजर नेत्रलाल पाण्डेका विरुद्ध जाहेरी लिन मानेको थिएन प्रहरी प्रशासनले । सबै कुरा पोलिग्राफ टेष्ट नै हो यसमा केहि पनि देखिदैंन भनेर शंकास्पद व्यक्तिहरुमाथी सुक्ष्म अनुसन्धान अझै सम्म पनि गरिएको छैन । सामान्य रुपमा सोधपुछ गरि छोडिएको थियो ।

न्यायको लागि भौतारिएका हामीलाई प्रहरी प्रशासन, सञ्चारमाध्यम, सञ्चारकर्मी, राजनैतिक दल, स्थानिय जनप्रतिनिधीहरु जसले जसरी सक्नुहुन्छ आफ्नो आफ्नो ठाउँबाट पहल गरिदिनु हुनेछ भन्नेमा पिडित परिवार विश्वस्त छौं । हामीले गुमाइसकेको बुवालाई फर्काइदिनुहोस् भनेका छैनौ, जसले जुन माध्यमबाट सक्नुहुन्छ कृपया हाम्रो न्यायको लडाईमा साथ दिनुहोस् । दोषीलाई कानुन बमोजिमको कारवाही र पिडितलाई न्यायको अनुभूति छिट्टै मिलोस । यस न्यायको लडाईमा यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछौ।

(संगीता आचार्य मृत फेला परेका व्यापारी चन्द्र प्रसाद आचार्यको छोरी हुन्।) 

प्रतिक्रिया