यस्तो छ विजया दशमीमा दिइने आशीर्वादको अर्थ

रबि धिताल

काठमाडौं, असोज २१ : दशमीको दिन बिहानीको झुल्के घामसँगै देवी विसर्जन गरी मान्यजनको हातबाट प्रसाद ग्रहण गरिन्छ। नवदुर्गाको प्रसादसँगै मान्यजनले दिने आशीर्वाद विशेष मानिन्छ। विजयादशमीको प्रसाद लगाइदिनेले योग्यताअनुसार वैदिक, पौराणिक र लौकिक आशिर्वाद दिन्छन्। ‘श्रीर्वर्चस्व मायुष्यम्…’ वैदिक मन्त्रको भावार्थ हुन्छ, ‘तिमीलाई श्री, आयु, आरोग्य, धन, धान्य, पशु (वाहन) प्राप्त होस्।

असल सन्तान प्राप्त हऊन्, सन्तानका सत्कर्मले तिम्रोसमेत कीर्ति फैलियोस्। सबै सुख भोग्दै सय वर्षको आयु बाँच।’ विजया दशमीका लागि सरल संस्कृत मन्त्र छ, आयुर्द्रोणसुते श्रियो दशरथे… अश्वत्थामाको जस्तो आयु प्राप्त होस्, कीर्ति दशरथको जस्तो… इत्यादि। यो मन्त्रमा पौराणिक पात्रहरूका राम्रा/राम्रा एक/एक गुण तिमीलाई प्राप्त होस् भन्ने कामना गरिएको छ। मन्त्रार्थाः सफलाः सन्तु पूर्णाः सन्तु मनोरथाः/शत्रूणां बुद्धिनाशोऽस्तु मित्राणामुदयस्तव/अव्याधिना शरीरेण मनसा च निराधिना/पूरयन्नर्थिनामाशास्त्वं जीव शरदां शतम्। अर्थात् मनोकांक्षा सिद्धि होस्, तिम्रा कुभलो गर्नेको बुद्धि नाश होस्, मित्रहरू बढ्दै जाउन्, निरोगी भएर सय वर्ष बाँच। भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः प्रसिद्धतु।

तुष्यन्तु त्वां सदा देवाः संपदः सन्तु सुस्थिराः। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी/दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते। देवीदेवताले संधै कल्याण गरुन् भन्ने अर्थ अघिल्लो मन्त्रले बोकेको छ। पछिल्लो मन्त्र दुर्गाको आराधना हो। यो मन्त्रले पनि कल्याणको अर्थ दिन्छ। लौकिक रूपमा आफ्ना प्रियहरूको अवस्था हेरी आशीर्वाद दिने चलन छ। ठाउँ र परिस्थितिअनुसार आशीर्वाद फरक-फरक हुन सक्छन्। उद्देश्य एउटै हो, आफ्ना प्रियहरूको भलो कामना गर्नु। ‘सन्तानले डाँडाकाँडा ढाकून्’, पहाडतिर पहिलेका बुढाबुढाले दिने यो आशीर्वादलाई हामीले गलत अर्थ लगायौं।

सन्तान फैलियून्। सबैतिर उनीहरूको कीर्ति फैलियोस् भन्ने कामना होला। डाँडाकाँडाको शब्द फैलिएर अहिले मुलुक वा विश्वभरि भन्नुपर्ने अवस्था आएको छ। आफ्ना सन्तान सबैतिर पुगुन् कीर्ति चलोस् भन्ने इच्छा कसको नहोला र! यस्तै ‘हिँड्दा ठेस नलागोस्’ भन्ने आशीर्वाद सामान्य छ तर गुढ अर्थ, कुनै पनि काम गर्दा बिघ्न नआओस्, सफलता मिलोस् भन्ने हो।

प्रतिक्रिया