रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार

राष्ट्रिय समाचार समिति

लहान, २७ असार: कमला नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि आज उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको आज साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो । दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो ।

प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर आउन सकेको थिएन । मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आउनुभएको थियो । गएराति बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढ्नुभएको थियो ।

प्रतिक्रिया