वातावरण बचाउन निःशुल्क तुलसी वितरण

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २७ असार : वातावरण बचाउ पृथ्वी जोगाउँ भन्ने आग्रहसहित हरिशयनी एकादशीको अवसर पारेर आज पुडासैनी मैत्री समाज र वाग्मती सुन्दरता सरोकार मञ्चको संयुक्त आयोजनामा पशुपति क्षेत्र परिसरबाट तीन हजार थान तुलसीका बिरुवा वितरण गरिएको छ । मञ्च र समाजलगायत संस्थाले गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएका छन् । तुलसीको बिरुवाले वातावरणलाई स्वच्छ राख्न सहयोग गर्ने भएकाले बिरुवा वितरण गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताउनुभयो । वाग्मती र यसका सहायक नदीका किनारमा तुलसीका बिरुवा रोपी नदीको स्वच्छता प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।

यहाँका अभियानकर्मीले वाग्मती किनारमा तुलसीका बिरुवा हुर्काउँदै हरेक वर्ष हरिशयनी एकादशीका दिनमा बेर्ना वितरण गर्ने गरेका छन् । वनस्पति विज्ञानले तुलसीका अनेक गुणको व्याख्या गरेको छ । वैदिक धर्मशास्त्रमा तुलसीको धार्मिक महत्वका बारेमा पनि उत्तिकै वर्णन गरिएको छ । विविध प्रकारका रोगबाट मुक्तिका लागि औषधिका रुपमा समेत तुलसीको प्रयोग गरिन्छ ।

अत्यधिक अक्सिजन उत्सर्जन गर्ने भएकैले पनि सनातन हिन्दू परम्परानुसार मृत्यु श्ययाको अन्तिम क्षणमा तुलसीको मोठमा सार्ने र तुलसी पानी खुवाउने परम्परा छ । शास्त्रीय मान्यता र विज्ञानबीचको अन्तर सम्बन्धलाई नजरअन्दाज गर्ने हो भने पनि तुलसी बहुगुणी वनस्पति रहेको तथ्य प्रमाणित हुन्छ । यसैकारण घर घरमा तुलसीका बिरुवा निःशुल्क वितरण गरिएको हो ।

विगत चार वर्षमा नदी किनारमा लाखौँ तुलसीका बिरुवा रोपिएको जनाइएको छ । पशुपति र गुह्येश्वरीमाथिको क्षेत्रमा उल्लेख्य रुपमा तुलसीका बिरुवा रोपिएको छ । यस अवधिमा एक लाखभन्दा बढी तुलसीका बिरुवा निःशुल्क वितरण गरिएको अभियानकर्मी पुडासैनीले बताउनुभयो । विभिन्न विद्यालय तथा सार्वजनिक स्थललगायत शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रलगायत अस्पतालमा समेत निःशुल्क रुपमा तुलसी रोपण भएको छ । गोकर्णेश्वर नगरपालिकास्थित वाग्मती स्तम्भ वाटिकाबाट वर्षभरिनै इच्छुक मानिसलाई आवश्यक सङ्ख्यामा तुलसीका बिरुवा निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको मञ्चले जनाएको छ । रासस

प्रतिक्रिया