विराटनगर डुबानमा

राष्ट्रिय समाचार समिति

विराटनगर, २९ असार: पाँच दिनदेखि परेको वर्षाका कारण विराटनगरका अधिकांश वडा डुबानमा परेका छन् । विराटनगर महानगरपालिका–१, ६, ७, ८, ११, १२, १५, १५, १८ र १९ वडा सबैभन्दा बढी डुबानमा परेका छन् । बाढी बस्तीमा पसेपछि स्थानीयवासी समस्यामा परेका छन् । विराटनगर–१२ बखरीमा मात्र ८० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिनुभयो । “घरभित्रै सम्म बाढी पसेको छ, खाद्यान्न, लत्ताकपडालगायत सामग्री नष्ट भएको छ”, उहाँले भन्नुभयो । बाढीबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका अनुसार बाढीपीडितलाई स्थानीय सामुदायिक विद्यालय, अग्लो स्थान तथा समुदायिक भवनमा सुरक्षित रुपमा राखिएको छ । महानगरले खानेबस्नेसमेत व्यवस्था मिलाएको उहाँले बताउनुभयो । प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहितको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री, खाद्यान्न्न र स्वच्छ पानी वितरण गरेको छ ।

“बाढीपीडितको तथ्याङ्क तथा क्षतिको विवरण सङ्कलन भइरहेको छ, सँगसँगै राहत सामग्री वितरण गरिरहेका छौँ”, प्रमुख पराजुलीले भन्नुभयो । बाढीपीडितको उद्धार तथा राहत वितरणमा महानगरपालिका, स्थानीय सङ्घसंस्था, नेपाल रेडक्रस, स्थानीयवासीलगायत जुटेका छन् । प्रजिअ रमेश केसीका अनुसार जिल्लामा बाढीबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट पाँच हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । रासस

प्रतिक्रिया