सरोजनारायणको परिवारलाई दश लाख राहत

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २६ असार : सरकारले सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।यही असार १५ गते सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय अनुप रायको निधनपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । यातायात सञ्चालन गर्ने क्रममा स्थानीयवासी र प्रहरीबीच भएको झडपमा स्थानीयवासी सरोजनारायण सिंहको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद्को यही असार १९, २३ र २४ गतेको बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सो घटनाका घाइतेलाई सरकारी अस्पतालमा उपचार गराएको खर्चको प्रमाणित बिलबापतको रकमसमेत उपलब्ध गराउने निर्णय भएको छ । बैठकले बीउबिजनको किसिम, जातहरूको सूची नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । एकहत्तर जातका बिरुवामा विभिन्न प्रकोप, किरा आदिले समात्ने देखिएकाले तिनलाई हटाएर ४० वटा राख्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले मिति २०७४ पुस १३ को मन्त्रिपरिषद्को निर्णयअनुसार पुरस्कृत सूचीमा रहेका कोच सुधीर चौधरीको नाम सुधीरकुमार चौधरी, खेलाडी जङ्गबहादुर मगरको नामथर जङ्गबहादुर रुचाल र नवीन राईको नामथर होमनाथ राई हुने गरी संशोधन गर्ने निर्णय गरेको छ । ऐतिहासिक बागदरबारको संरक्षण सम्बन्धमा सर्वोच्च अदालतको आदेशानुसार उक्त दरबारको वास्तुकला, प्रविधि, वास्तुकृति र स्वरूपको मौलिकतालाई कायम राखी पुनर्निर्माण, पुनस्र्थापनाको विषयमा अध्ययन र विश्लेषण गरी तीन महीनाभित्र प्रतिवेदन पेश गर्न पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गर्ने निर्णय बैठकले गरेको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको चुक्तापूँजी रु आठ अर्ब रहेकामा नेपाल सरकारले विश्व बैंकसँग गरेको प्रतिबद्धता पूरा गर्न अर्थ मन्त्रालयबाट रु एक अर्ब ८० करोड निकासा दिई र नेपाल राष्ट्र बंैकबाट रु २० करोड लगानी गरी कोषको चुक्तापूँजी रु १० अर्ब पु¥याउन स्वीकृति दिइएको छ ।बैठकले जापान सरकारबाट मानव स्रोत विकास परियोजना दोस्रो चरणअन्तर्गत प्राप्त हुने करीब रु ३८ करोड ८९ लाख (जापानी येन ३८ करोड ७० लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

सङ्घीय वित्त व्यवस्थापनका लागि नीतिगत र संस्थागत सुधार गर्दै दिगो आर्थिक वृद्धि र गरीबी निवारणमा योगदान पु¥याउने क्रममा नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सहुलियतपूर्ण ऋण सहायताका रूपमा प्रस्तावित १०० मिलियन अमेरिकी डलर बराबरको रकम स्वीकार गर्ने निर्णय भएको छ ।

त्यसैगरी रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलोपमेण्ट कम्पनीलाई आयकर छुट दिने निर्णय गरिएको छ । उच्चअदालत तुलसीपुरको वाणिज्य इजलाससम्बन्धी प्रादेशिक क्षेत्राधिकार नेपालगञ्ज इजलास अन्तर्गतबाट झिकी उच्चअदालत तुलसीपुरको वाणिज्यसम्बन्धी मुद्दा हेर्ने उच्चअदालत तुलसीपुरमा उच्चअदालत नियमावली, २०७३ को नियम ६६ को उपनियम १ बमोजिम वाणिज्य इजलास गठन गरी सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।रासस

प्रतिक्रिया