सामूहिक टिमुरखेती

राष्ट्रिय समाचार समिति

स्याङ्जा, २७ असार : गल्याङ नगरपालिका– १० भिरालेका किसानले घरबारीको पाखो बारीमा रहेको झाडी फाँडेर सामूहिक टिमुरखेतीको शुरुआत गरेका छन् । बाँदर, मृगलगायतका जङ्गली जनावरले लगाएको खेतीबाली आएर हैरान बनेका किसानले बारीमा खेती नै लगाउन छाडेका थिए ।खेती नलगाएसँगै झाडी बनेको बारी भने यतिबेला किसानले फाँडेर चिटिक्क पारेका छन् । वडा कार्यालयले किसानलाई टिमुरखेतीका बारेमा जानकारी दिनुका साथै आवश्यक बिरुवासमेत उपलब्ध गराएपछि किसान यस खेतीतर्फ आकर्षित भएका हुन् ।

भिरालेका ५० घर स्थानीयले देवीभञ्ज्याङ टिमुर व्यावसायिक कृषि समूह गठन गरी साढे एक हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै टिमुरखेती शुरु गरेका हुन् । करीब एक हजार २०० टिमुरको बिरुवा लगाएको टेकबहादुर सिंजालीले बताउनुभयो । बाँदर, मृग, दुम्सीलगायतका जनावरले अन्नबाली रहन नदिएपछि टिमुरखेती शुरु गरेको सिंजालीले बताउनुभयो ।

सामूहिक टिमुरखेतीमा लाग्नुभएकी लीला सारुले बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जनसमेत गर्न सकिने भएकाले सामूहिक टिमुरखेतीमा लागेको बताउनुभयो । टिमुरखेतीको सम्भावना देखेर आफूहरु यस खेतीमा लागेको उहाँले बताउनुभयो । अघिल्लो वर्ष वडामा ७०० टिमुरका बिरुवा परीक्षणका रूपमा लगाइएको र टिमुरका लागि चाहिने खालको उपयुक्त हावापानी भएकाले यस वर्षदेखि व्यावसायिकरूपमा समूह बनाएर शुरु गरेको कृषक लक्ष्मण शाहीले बताउनुभयो ।

टिमुरखेतीका लागि गाउँमै नर्सरी बनाएर बिरुवासमेत उत्पादन गरिएको शाहीले बताउनुभयो । वडाध्यक्ष धु्रवप्रसाद शर्मा पङ्गेनीले वडालाई जैविक वडाका रूपमा विकास गर्न कृषिका माध्यमबाट अगाडि बढिएको बताउनुभयो । युवालाई विदेश पलायन हुनबाट रोक्न सामूहिक टिमुरखेती, सामूहिक कागतीखेती, कुरिलोखेतीलाई समेत वडाले प्राथमिकता दिएको उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया