Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment सुतेको सुतै यसरी जानसक्छ ज्यान... - Pnpkhabar.com

सुतेको सुतै यसरी जानसक्छ ज्यान…

मनिषा थापा

एजेन्सी : पछिल्लो समय सुतेकै अवस्थामा मृत फेला पर्ने घटनाहरु बढेका छन् जसलाई चिकित्सक सडेन कार्डियाक डेथ भन्छन् । बाहिरबाट हेर्दा कुनै समस्या नदेखिए पनि मुटुमा हुने समस्याका कारण यसरी अचानक व्यक्तिको मृत्यु हुने गरेको देखिन्छ ।

‘मुटुको विद्युतीय प्रणाली (चाल) मा गढबडी र रक्त सञ्चारको अवरोधका कारणले सडेन कार्डियाक डेथ हुने गर्छ,’ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले भने ‘सडेन कार्डियाक डेथमा १÷२ घण्टामा व्यक्तिको मृत्यु हुन्छ ।’डा. प्रभा चापागाईं कोइरालाका अनुसार यस्तो घटनामा एक घण्टाभित्र व्यक्तिको मृत्यु हुने भएकाले समयमै जानकारी पाए बचाउन सकिने भए पनि सुतेको अवस्थामा व्यक्ति अचेत हुने र परिवारका सदस्यले थाहा नपाउँदा उपचारको प्रक्रियामा पु¥याउनु अगाडि नै मृत्यु हुने बताउँछन् ।


सडेन कार्डियाक डेथ भएको खण्डमा तुरुन्त कार्डियो सिपिआर गरेर व्यक्तिलाई बचाउन सकिन्छ । तर एक घण्टाभित्र उपचार नगरे मृत्यु हुने डा. कोइरालाले बताए । चिकित्सकका अनुसार पहिल्यै मुटुका समस्या भएकालाई वा कारणै थाहा नभइकन पनि अचानक मृत्यु हुनसक्छ । मुटुले काम गर्न छोडेपछि मस्तिष्कमा रक्तसञ्चार नभएर मस्तिष्कले अक्सिजन नपाउँदा मस्तिष्कको मृत्यु हुने वीर अस्पताल मेडिसिन विभागका उपप्राध्यापक फिजिसियन डा. भवेश थापा बताउँछन् । मस्तिष्कको मृत्यु हुनुलाई मेडिकल भाषामा ब्रेन डेथ भनिन्छ । मुटुले सामान्यतया एक मिनेटमा ६० देखि सय पटक पम्प गर्नुपर्छ । मस्तिष्कभित्रको रक्तनली फुटे पक्षघात हुन्छ ।

सोडियम, क्याल्सियम र पोटासियमको गडबडीजस्ता कारणले अचानक मुटुको चाल बन्द भएर सडेन कार्डियाक डेथ हुने बताउँछन्, डा. सुशील मोहन भट्टराई ।मुटुको चाल बन्द भएको तीन मिनेट भित्र पुनः मुटु सुचारु नहुने हो भने मस्तिष्कमा रगत र अक्सिजन नपुगेर करिब तीन मिनेटभित्र मस्तिष्कको मृत्यु हुने उनले बताए । अचानक टाउकोको रक्तसञ्चार बन्द हुँदा पक्षघात हुने र रक्तसञ्चारमा अचानक कमी आउँदा र रक्तसञ्चार नली फुटेर अचानक रक्त सञ्चारमा अवरोध आउँदा ब्रेन सर्ट डाउन हुने डा. भट्टराईले बताए । रक्तसञ्चारमा अचानक कमी आउने वा रक्तसञ्चार नली फुटेर अचानक रक्त सञ्चारमा अवरोध आउँदा मस्तिष्कको मृत्यु हुन्छ । जसलाई मेडिकल भाषामा स्ट्रोक भनिन्छ ।

वयस्कमा हृदयाघातका कारण सडेन डेथको जोखिम हुने बताउँछन्, डा.थापा । मुटुमा कुनै न कुनै किसिमको समस्या भएका व्यक्तिमा सुतिरहेकै अवस्थामा सडेन कार्डियाक डेथ हुुन सक्ने बताउँछन्, चिकित्सक ।

बिहान जोखिम
सामान्यतया बिहानको समयमा धेरै व्यक्तिको मृत्यु भएको देखिए पनि यही कारणले बिहानको समयमा धेरैको मृत्यु हुन्छ भन्ने यकिन नभएको चिकित्सकको भनाइ छ । विशेषगरी जाडोको मौसममा बिहानीको समयमा व्यक्तिको बढी मृत्यु हुने देखिए पनि सडेन कार्डियाक डेथ भने बिहानकै समयमा हुन्छ भन्न नहुने मुटुरोग विशेषज्ञ डा. कोइरालाले बताए । बिहानको समयमा एकचोटी मुटु र मस्तिष्कमा बढी लोड (भार) पर्ने भएकाले बिहानको समयमा सडेन डेथ हुने गरेको चिकित्सक बताउँछन् ।

डा. भट्टराईका अनुसार टुसुक्क पोजिसनमा ट्वाइलेट बस्दा खुट्टाको सबै रगत मुटुमा जाने भएकाले मुटुले थाम्न नसकेपछि रक्तनली फुट्ने वा बन्द भएर सडेन डेथको जोखिमसमेत हुन्छ । यस्तो अवस्थामा हृदयाघातको जोखिमसमेत हुने चिकित्सक बताउँछन् ।

डा. भट्टराईका अनुसार विशेषगरी मर्निङवाक गर्दा र ट्वाइलेट बस्दा सडेन डेथ हुने गरेको देखिन्छ । अचानक मस्तिष्कमा लोड बढेपछि प्रेसर बढेर पनि ब्रेन हेमोरेज हुने गरेको देखिन्छ ।
व्यायाम गर्दा मुटुमा बढी रक्तसञ्चार हुनुपर्ने भए पनि राम्रो रक्त सञ्चार हुन नसक्दासमेत हृदयाघातको जोखिम हुने डा. थापा बताउँछन् ।

यस्तो छ कारण
अकस्मात मृत्यु हुने कारण भेन्ट्रिकुलर टैकि कार्डिया र भेन्ट्रिकुलर फिब्रिलेसन पनि हुन् । मुटुका समस्या वंशाणुगत रुपमा, मुटुका धमनीमा बोसोको मात्रा धेरै वा जम्ने, मुटुका दीर्घरोगीमा सडेन कार्डियाक डेथको जोखिम हुने बताउँछन्, चिकित्सक । चुरोट सेवन गर्ने व्यक्तिमा चुरोट सेवन नगर्ने व्यक्तिको तुलनामा सडेन डेथको जोखिम तेब्बर हुने कार्डियोलोजिष्ट डा.कोइरालाले बताए ।चिकित्सकका अनुसार उच्च रक्तचाप पनि सडेनडेथको मुख्य कारण हो । त्यसैले उच्च रक्तचापको समयमै उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । डाइबेटिज, कोलेस्ट्रोल, मोटोपना, व्यायामको कमीले समेत जोखिम हुन्छ ।

वंशाणुगत कारणले पनि हृदयाघात, सडेन कार्डियाक डेथ हुन सक्ने चिकित्सक बताउँछन् । परिवारमा बाबु बाजेमा मुटुको समस्या छ वा मुटुको समस्या भएर मृत्यु भएको छ भने त्यस्ता व्यक्तिका सन्ततिमा पनि मुटुरोग तथा सडेन कार्डियाक डेथको जोखिम हुने डा. भट्टराईले बताए ।

छातिमा कुनै किसिमको अकस्मात चोट लाग्यो भने पनि सडेन कार्डियाक डेथको जोखिम हुन्छ । कुनै कुरामा ठोकिँदा मुटुका पर्खाल च्यातिएर पनि अचानक व्यक्तिको ज्यान जान सक्छ ।

लङ्ग क्युटि सिन्ड्रोम, सर्ट क्युटी सिन्ड्रोम, डब्लुपी डब्लु सिन्ड्रोम जस्ता कारणले सुतेकै समयमा र अन्य समयमा पनि अचानक व्यक्तिको मृत्यु हुने गरेको छ । मुुटुको रक्तसञ्चार गर्ने रक्तनली जहाँबाट आउनुपर्ने हो त्यहाँबाट नआएर उल्टोपाल्टो हुँदा पनि जोखिम हुन्छ ।

३५ वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा कोरोनरी आर्टेरि डिजिज हुन्छ । जसको लक्षण थाहा नहुन सक्छ । वंशाणुगत रुपमै र पछि भएका मुटुका रोगका कारण सडेन डेथको जोखिम हुने बताउँछन्, चिकित्सक । ८० प्रतिशतभन्दा बढी व्यक्तिमा कोरोनरी आर्टेरी डिजिजका कारणले ज्यान जाने जोखिम हुने बताउँछिन्, कार्डियोलोजिष्ट डा. प्रभा कोइराला ।

कार्डियो मायोप्याथिमा मुटुको मांशपेशी बाक्लो भएर ज्यान जाने जोखिम हुन्छ भने मुटु नै ठूलो भएर (डाइलेट) पनि मृत्युको जोखिम हुने चिकित्सक बताउँछन् । मुटुको भल्भसम्बन्धी गडबडीका कारण पनि ज्यान जाने जोखिम हुन्छ,जसलाई मेडिकल भाषामा भल्भकुलर हार्ट डिजिज भनिन्छ । मुटुको नसा अकस्मात छुट्टिँदा जोखिम हुन्छ, मुटुको नसा छुट्टिनुलार्ई डिसेक्सन भनिन्छ । विभिन्न किसिमका रोगको कारणले पनि मुटुको नसामा गडबडी भएर समस्या हुन्छ । त्यसैले रोगको पहिचान गरेर बेलैमा सडेन डेथ हुनबाट बच्नुपर्ने बताउँछन्,चिकित्सक ।

यस्ता हुन्छन् लक्षण
सडेन कार्डियाक डेथका सामान्य लक्षण महसुस हुने बताउँछन्,चिकित्सक । सामान्य छाती दुख्ने, स्वाँस्वाँ हुने, मुटु हल्लिएको अनुभूति हुने बताउँछिन्, डा. कार्डियोलोजिष्ट कोइराला । कतिपय अवस्थामा भने लक्षणै थाहा नहुन पनि सक्छ ।

मुटुको रोग पहिल्यैदेखि भएको अवस्थामा पनि सडेन डेथको जोखिम हुन्छ । सडेनडेथ हुनुपूर्व चक्कर लाग्ने, छाति दुख्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन सक्ने बताउँछन्, डा. थापा ।

महिला भन्दा पुरुष जोखिममा
अमेरिकामा वर्षेनि करिब ४ लाख व्यक्तिको सडेन कार्डियाक डेथ हुने गरेको बताउँछिन्, कार्डियोलोजिष्ट डा.कोइराला । विश्व स्वास्थ्य संगठनका अनुसार हजारजना पुरुषमध्ये दुईजनाको सडेन कार्डियाक डेथ हुने गरेको छ भने हजार महिलामध्ये एकजनामा सडेन कार्डियाक डेथ हुने गरेको छ । सडेन कार्डियाक डेथको जोखिम महिलामा भन्दा पुरुषमा धेरै हुने देखिन्छ । करिब ३० प्रतिशत महिला र ७० प्रतिशत पुरुष मुटुको समस्या भएर उपचार गर्न अस्पताल पुग्ने गरेका छन् ।

चिकित्सकका अनुसार महिलामा महिनावारीको समयमा हृदयाघातको जोखिम कम भए पनि महिनावारी रोकिएपछि जोखिम बढ्छ । युवा अवस्थामा सामान्य मुटुको चालमा गडबडी भयो भने अचानक मृत्यु हुन सक्ने बताउँछन्, डा. थापा ।

एक वर्षभन्दा कम उमेरका बच्चामा पनि सडेन डेथको जोखिम हुन्छ । कार्डियोलोजिष्ट कोइरालाका अनुसार सानो बच्चामा लङ्ग क्युटी जस्ता कारणले मुटुको चालमा गडबडी हुँदा अचानक ज्यान जाने जोखिम हुने उनले बताए । बच्चामा पनि लक्षण नदेखिन सक्छन् । ४० देखि ६० वर्षको उमेर समूहमा सडेन डेथको जोखिम हुने उनले बताइन् ।

नियमित परीक्षण
मुटुको इसिजी, इकोलगायतको जाँच गरेर मुटुको समस्या पत्ता लगाउन सकिन्छ । गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हुने अप्रेसनमध्ये करिब २५ प्रतिशत जन्मजात मुटुरोगीको अप्रेसन हुने गरेको छ ।

हट्अट्याक भएर एनजिओप्लाष्टिक गरेर उपचार गरिनेको संख्या पनि पनि बढ्दो छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको अध्ययनअनुसार विशेषगरी उच्च रक्तचाप, चिनीरोगको समस्या, हरियो साग सब्जी र फलफूलको कमीले नेपालमा मुटु रोगको समस्या देखिएको बताउँछिन्, कोर्डियोलोजिष्ट डा.कोइराला ।

विशेषगरी मुटुको समस्या भएका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने, चिकित्सकको सुझाव छ । स्वस्थ रहन नियमित कम्तीमा आधा घण्टा व्यायाम गर्न जरुरी हुने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया