अनुहारमा रहेको स-साना प्वालहरु हटाउन अपनाउनुहोस् यस्ता घरेलु उपाय

रिता घिसिंग

एजेन्सी : हरेक व्यक्तिको अनुहारमा प्वालहरु ( रोम छिद्र ) हुन्छन् । ती प्वालको मद्दतले छालाले सास फेर्छ । साथै, ती प्वालहरुबाट चिल्लो पदार्थ निस्किन्छ, जसले हाम्रो छालालाई चिल्लो बनाइराख्छ । अनुहारको छालामा साना साना प्वाल हुनु स्वाभाविक हो।

तर धेरै जसो व्यक्तिको छालामा ती प्वालको आकार बढ्दै जान्छ । त्यसले अनुहारलाई फोहोर र नराम्रो देखाउंछ । ती प्वालहरुलाई कम गर्नको लागि बजारका प्रसोधित सामग्री भन्दा घरेलु उपचार प्रभावकारी र दीर्घकालीन हुन्छ । अनुहारका ठूला रोम छिद्रलाई कम गर्नको लागि घरमै फेसप्याक तयार गर्न सकिन्छ । यसको लागि केराको बोक्रा, दही, टमाटरको रस, निमको पात, मुलतानी माटो, कागती आवश्यक हुन्छ।

रोम छिद्रको लागि अमिलो कुराले छिटो हटाउन सकिने हुनाले अमिलो पदार्थ बढी प्रयोग गरिएको हो । यी पदार्थ संग अण्डाको सेतो भाग पनि प्रयोग गर्न सकिन्छ । मुलतानी माटो उपलब्ध नभएको खण्डमा बेसन पनि प्रयोग गर्न सकिन्छ । तर रोमछिद्र हटाउनको लागि बेसनको तुलनामा मुलतानी माटोले छिटो र प्रभावकारी ढंगले काम गर्छ ।

यी पदार्थको पेस्ट बनाउनको लागि सुरुमा केराको बोक्रालाई मिक्सरमा मिक्स गर्नुपर्छ । त्यसपछि केराको बोक्राको पेस्टमा दही, टमाटरको रस, निमको पात, कागती राखेर फेरी मिक्स गर्नुपर्छ । त्यो मिक्सलाई एउटा भाँडोमा खन्याएर त्यसमा मुलतानी माटो थप्नुपर्छ र त्यसलाई राम्रोसंग मिक्स गरेपछि पेस्ट तयार हुन्छ । उक्त पेस्टलाई अरु पेस्ट जसरि नै अनुहारमा लगाउन सकिन्छ । यो पेस्ट लगाएपछि १० देखि १५ मिनेट सम्म राख्नुपर्छ ।

यो पेस्ट लगाइसकेपछि धुँदा ध्यान दिनु जरुरी हुन्छ । धुँदा चिसो पानी वा बरफको प्रयोग गर्नुपर्छ । चिसोले गर्दा रोमछिद्रमा छिटो असर हुन्छ । यो पेस्ट हप्ताको दुई देखि तीन पटक वा हरेक दिन पनि प्रयोग गर्न सकिन्छ । मुलतानी माटो मिक्स नगरी एकैपटक धेरै पेस्ट बनाएर फ्रिजमा राख्नाले आफूले चाहेको समयमा त्यसमा मुलतानी माटो राखेर प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया