अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि वालेसलाई

admin

स्याङ्जा, २६ फागुन : स्याङ्जाको वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पार्नुभएको छ । एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गर्नुभएको थियो । टाइटलतर्फ प्रथम हुनुभएका कोरीले नगद रु पाँच लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

महिलातर्फ लक्ष्मी मगर आठ घण्टा नौ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गरेर प्रथम हुनुभयो । उहाँले रु तीन लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । यसैगरी प्रतियोगितामा आठ घण्टा ५१ मिनेट ५६ सेकेन्डमा सो दूरी पार गरी सोनी गुरुङ द्वितीय हुनुभयो । द्वितीय भएसँगै गुरुङले रु ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएयो । प्रतियोगितामा पुरुषतर्फ हर्कबहादुर लामा प्रथम, कमल ओली द्वितीय र सन्तोष गुरुङले तृतीय स्थान हासिल गरेर क्रमशः रु एक लाख ५० हजार, ५० हजार र ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताको घोषणासभामा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण एवं सम्मान गर्नुभएको थियो । टाइटलतर्फ च्याम्पियन हुनुभएका क्यानेडाली खेलाडी कोरी वालेसले आफू सहभागी भएको प्रतियोगितामध्ये यहाँ भएको प्रतियोगिता निकै कठिन खालको भएको र यो प्रतियोगिताले आफूमा थप साहस बढेको प्रतिक्रिया दिँदै माउन्टेन बाइक प्रतियोगिताका लागि यो ठाउँ उपयुक्त भएको बताउनुभयो ।

वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको प्रतियोगिताबाट जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित गराउने उद्देश्य लिइएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी दिनुभयो । प्रतियोगितामा दुई पटकसम्म विश्व च्याम्पियन बनेका क्यानेडाली वालेससहित दुई विदेशी र २६ स्वदेशी गरी २८ खेलाडीको सहभागिता रहेको थियो ।
-रासस

प्रतिक्रिया