अपाङ्गता भएकालाई रेडक्रसको आर्थिक सहयोग

शर्मिला गुरुङ

दमौली, ६ माघ : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिहरुलाई रु आठ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पु¥याउन रेडक्रस सोसाइटीले व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सम्जुरका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

रिस्तीका ३७ र सम्जुरका ४३ लाई जनही रु १०÷१० हजारको दरले कूल रु आठ लाख सहयोग प्रदान गरिएको रेडक्रस सोसाइटी जिल्ला सभापति कृष्णहरि वाग्लेले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालित ‘नेपालमा भूकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि सशक्तिकरण र समावेशीकरण कार्यक्रम’अन्तर्गत उनीहरुको जीविकोपार्जनका लागि सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको वाग्लेले बताउनुभयो ।
रेडक्रस सोसाइटीले जिल्लाको व्यास नगरपालिकाको रिस्ती, भानु नगरपालिकाको सतिस्वाँरा, रिसिङ गाउँपालिकाको कोटदरबार र रानीपोखरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग प्रदान गरिने बताएको छ ।

जनप्रतिनिधिद्वारा जनश्रमदान

तनहुँको भिमाद नगरपालिका–९ का जनप्रतिनिधिसहितको टोलीले सोही वडाको बुचाखानी माध्यमिक विद्यालय प्राङ्गण सम्याउन शनिबार जनश्रमदान गरेका छन् ।

विद्यालयको नयाँ भवन निर्माणको क्रममा थुपारिएको माटो र ढुङ्गाले विद्यालय प्राङ्गण अव्यवस्थित बनेपछि वडाध्यक्ष इमान थापाको नेतृत्वमा जनप्रतिनिधिसहितको स्थानीय टोलीले जनश्रमदान गरेको हो ।

जनश्रमदानमा वडा सदस्य शेषबहादुर थापा र बाबुराम राना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज खनाल, प्रधानाध्यापक रामशरण भण्डारी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष प्रदीप थापालगायत १५० भन्दा बढी स्थानीयवासीको सहभागिता रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

जनश्रमदानमा सोही वडाको कटनछाप, धरमपानी, बुचाखानी लगायतका स्थानीयवासी सहभागी थिए । विद्यालय प्राङ्गणभित्र डोजर लैजान नमिलेपछि स्थानीयवासीलाई भेला गराएर जनश्रमदान गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया