अफगानिस्तानको दक्षिणी प्रान्तमा एक उम्मेदवारको गोली हानी हत्या

मनिषा थापा

कान्दाहार, अफगानिस्तान, १० असोज  :  अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताउनुभएको छ ।

अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेदवारी दिएका मोहमद नासिर मुबाराजमाथि कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहारमा मङ्गलबार राति गोली प्रहार भएको प्रवक्ता अजिज अहमद अजिजीले जानकारी दिनुभयो ।

गोली लागेपछि उहाँको घटनास्थलमै निधन भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । अफगानिस्तानमा स्थगित हुँदै आएको यो निर्वाचन अगामी अक्टोबर २० तारिखको लागि तय भएको छ । तर सो निर्वाचनको मिति तय भएसँगै केही महिनायता इस्लामिक स्टेट्स र तालिबान समूहले आक्रमण जारी राखेका छन् ।

मतदाताहरुले आफ्नो नामावली दर्ता गरेयता मध्य अप्रिलदेखि विभिन्न आक्रमणमा कान्दाहारमा मात्र ५५ व्यक्तिको मृत्यु भइसकेको छ । आमनिर्वाचनसँग सम्बन्धित हत्या हिंसामा दुई जना निर्वाचन सम्बन्धी कर्मचारी, सुरक्षा बलका सदस्यहरु र सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ ।

मतदाता नामावलीमा ३० लाख महिलासहित ९० लाख भन्दा बढीले आफ्नो नाम दर्ता गराएका छन् । यहाँको संसदको तल्लो सदन २४९ सदस्यीय छ । रासस-सिन्हवा

प्रतिक्रिया