अब काठमाडौँमै जापानी खाना ‘रामेन’

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३ साउन : जापानको प्रख्यात खानाको परिकार ‘रामेन’ को स्वाद नेपाली तथा विदेशी ग्राहकले सहजै चाख्न पाउने भएका छन् । ‘होक्काइदो नेपाल विजनेश ग्रुप’ले जापानको प्राचीन ‘रामेन’ नेपालमा भित्र्याएको हो । काठमाडौँमा दुई रेष्टुरेन्ट सञ्चालन गरी सो परिकार भित्र्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । परिकार बनाउने जापानी प्रविधि भित्र्याउनेदेखि जनशक्ति व्यवस्थापनसम्म गरी हालसम्म रु दुई करोड ७५ लाख लगानी भइसकेको होक्काइदो ग्रुपका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुुभयो । जापानमा लामो समयदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका अर्घाखाँचीका अधिकारीसहित चार जनाको समूहले सो रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

अधिकारीले जापानमा १२ भन्दा बढी रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ । विदेशमा रेष्टुरेन्ट सञ्चालन गरेको अनुभवलाई नेपालमा सदुपयोग गर्ने तथा नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ बढाउने उद्देश्यका साथ जापानी परिकार भित्र्याइएको अध्यक्ष अधिकारी बताउनुहुन्छ । पहिलो चरणमा बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्ट र काठमाडौँ गेष्ट हाउसमा रामेनको परिकार उपलब्ध हुनेछ । पोखरा, बुटवल, भैरहवालगायत स्थानमा यसको विस्तार गर्ने योजना छ ।

रामेन जापानको लोकप्रिय खाना हो । यो नेपालमा प्रचलित खाना थूक्पासित मिल्दोजुल्दो हुन्छ । खानाको स्वाद भने फरक हुन्छ । लामो नूडल्सलाई आठ घण्टा लगाएर बनाइएको सुपमा तरकारी, अण्डा र मासु प्रयोग गरिएको हुन्छ । जापानका प्रसिद्ध रामेन सेफ माचुमुराले नेपालमा रामेनको प्रशिक्षण तथा प्रवद्र्धन गर्दै आउनुभएको छ । जापानमा विभिन्न परिकार बनाएर अनुभव प्राप्त गर्नुभएका पुरनबहादुर चौधरी मुख्य सेफ हुनुहुन्छ ।

रामेन हाउसमा रामेन बाहेक अन्य ३० भन्दा बढी जापानी परिकार उपलब्ध गराइनेछ । नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘केजीएच’ ग्रुपसँग सहकार्य गरी सञ्चालनमा ल्याइएको रामेन हाउसको शाखा तथा फ्रेन्चाइज अबको एक वर्षमा कम्तीमा सात स्थानमा विस्तार गरिनेछ । रामेनको परिकारलाई जापानी मापदण्डअनुसार उत्पादनका लागि आवश्यकपर्ने पानी तथा कच्चा पदार्थ जापानी विज्ञको प्रशिक्षणमा उत्पादित व्यावसायिक कृषिको लागि भैरहवालगायत स्थानमा गहुँ, जौ र फापर उत्पादन गर्न थालिएको छ ।

रामेनका लागि ७० प्रतिशत कच्चा पदार्थ नेपालकै हुने र बाँकी जापानबाटै ल्याइने जनाइएको छ । प्रति रामेनको मूल्य रु ५५० भन्दा बढी पर्छ । नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा रामेनको परिकार नेपालमा पाइने भएपछि जापानका पर्यटकलाई नेपालको बसाइँ अवधि लम्ब्याउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । रामेन हाउसको पार्क भिलेजमा शनिबार नेपालका लागि जापानका राजदूत साइगो मासामिचिले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।
काठमाडौँमा २७ भन्दा बढी जापानी रेष्टुरेन्ट सञ्चालनमा छन् । तीमध्ये १२ रेष्टुरेन्टमा रामेन पाइन्छ । रासस

प्रतिक्रिया