अरिङ्गालको व्यापारबाट मनग्य आम्दानी

शर्मिला गुरुङ

पाल्पा, १७ मङ्सिर : रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्नुहुन्छभन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उहाँले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आउनुभएको छ । अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा रु ५० हजारभन्दा बढी आम्दानी गर्नुभयो ।

अरिङ्गालको परिकार निकै स्वादिलो हुन्छ । होटलमा अरिङ्गालको परिकार चाख्नका लागि ग्राहकको भीड लाग्छ । यही व्यापारबाट उहाँले मनग्य आम्दानी गरिरहनु भएको छ । “यस वर्ष अरिङ्गालले गोलो कम लगाएपछि आम्दानीमा कमी आयो,” उहाँले भन्नुभयो । गत वर्ष रु एक लाख ५० हजारभन्दा
बढी आम्दानी भएको उहाँको भनाइ छ । अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने हुन्छ ।

होटलमा ग्राहकले अरिङ्गालको परिकार बढी रुचाउने गरेका छन् । प्रतिकिलो अरिङ्गाल रु एक हजार २०० मा खरीद हुन्छ । आलेले एक प्लेट अरिङ्गालको परिकारलाई रु २५० मा बिक्री गर्नुहुन्छ । “ग्राहकको माग पूरा गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो । अरिङ्गालको परिकारले औषधिको काम गर्छ । सदरमुकाम तानसेन, पोखरा, काठमाडौँ, तम्घास, बुटवललगायत ठाउँबाट अरिङ्गालको माग हँुदै आएको छ ।

रिब्दीकोट गाउँपालिका–४, भारकोटका ज्ञानबहादुर आलेले हालसम्म १८÷१९ अरिङ्गालको गोला पोलेको बताउनुभयो । भैरवस्थानमा प्रतिकिलो अरिङ्गाललाई रु एक हजार २०० र तानसेनमा रु एक हजार रु ५०० मा बिक्री हुन्छ । अग्ला रुखमा अरिङगालले गोलो लगाउने भएकाले पोल्न समस्या हुन्छ । रासस

प्रतिक्रिया