अरुण नदीमा जलयात्रा शुरु

कृष्ण रोकाया

सङ्खुवासभा, ३ माघ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको धार्मिक पर्यटीयस्थल मनकामनाको छेउमा बहने अरुण नदीमा पहिलो पटक गत शुक्रबारदेखि जलयात्रा शुरु गरिएको छ ।

सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा सङ्खुवासभाको अरुण उपत्यका र बालेश्वर समेतलाई राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी जलयात्रा सञ्चालन गरिएको अरुण मकालु रिभर साइडका सञ्चालक राजकुमार घिमिरेले जानकारी दिनुभयो ।

अरुण नदीमा जलायात्राका माध्यमबाट पर्यटक आकर्षित गर्न अहिले विभिन्न स्थानमा जलयात्रा सञ्चालन भइरहेको सञ्चालक घिमिरेले बताउनुभयो । गत वर्ष खाँदबारी–२ चेवाबँेसीदेखि सुनसरीको चतरासम्म पहिलोपटक परीक्षणका रूपमा जलयात्रा शुरु गरिएको थियो । सफल परीक्षणपश्चात् निरन्तर जलयात्रा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

चेवाबेँसीदेखि लम्सुवा, मनकामनासम्म जलयात्रा सञ्चालन भइरहेको छ । घिमिरेले भन्नुभयो, “अहिलेको जलमार्गमा चेवाबेँसीदेखि चतरा पुग्ने सात स्थानमा ढुङ्गा भेटिएकाले केही असहज भएको छ ।” खाँदबारी–२ को चेवाबेँसी, धनकुटाको लेगुवा र छिन्ताङमा भेटिएका ढुङ्गालाई व्यवस्थापन गर्न सके तुम्लिङटारदेखि धरान तीन घण्टामै पुग्न सकिने घिमिरेले बताउनुभयो । उहाँले सरोकारवाला निकायले ध्यान दिन सके पर्यटन प्रवद्र्धनका लागि मात्र नभई जल यातायातमा समेत टेवा पुग्ने धारणा राख्नुभयो । जलमार्गमा भएको अवरोध हटाउन सके सप्तकोशी चतरामा चल्ने जेटबोट र पानीजहाज सञ्चालनमा ल्याउन सकिने स्थानीयको भनाइ छ ।

जलयात्रा सेवा सञ्चालनमा आएसँगै भोजपुर, सङ्खुवासभा, सुनसरीलगायतका जिल्लाका जनतालाई यात्रामा सहज हुने देखिएको छ ।

घामसँगै अस्ताउँछन् टेलिफोन

विद्युत् विस्तार नभएका कारण घाम अस्ताएसँगै सौर्य ऊर्जाका भरमा सङ्खुवासभाका दुर्गम क्षेत्रमा सञ्चालनमा रहेका नेपाल टेलिकमका टावरले दिने टेलिफोन सेवा पनि अस्ताउने गरेको छ ।

जिल्लाका दुर्गम गाउँमा रहेको नेपाल टेलिकमको बिटिएस टावर अझै सौर्य ऊर्जाको भरमा चलिरहेका छन् । उत्तरी क्षेत्रमा विद्युत् लाइन नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने ग्राहकले मौसमको भरमा सेवा पाउने गरेका छन् । दिनभर घाम लागेन भने सेवाग्राहीका मोबाइल सेवा बन्द हुने गर्दछ ।

बेलुकी घाम अस्ताएपछि बिहान ९ बजेअघि यस क्षेत्रका नागरिक आधुनिक सञ्चारबाट वञ्चित हुन्छन् । त्यतिमात्र होइन, कहिलेकाहीँ त दुईचार दिनसम्म पनि मौसम खराब हुने गर्दछ । उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको टावरमार्फत २४ घण्टा सेवा प्रवाह नहुने भए पछि किमाथाङ्कावासी छिमेकी देश चीनको सिमकार्ड प्रयोग गर्न बाध्य छन् । सौर्य ऊर्जाका भरमा रहेका बिटिएस टावर रहेको स्थानमा ब्याट्री पुरानो भएकाले पनि समस्या भएको नेपाल टेलिकम खाँदबारी शाखाका प्रमुख राधारमण भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ब्याट्री पुरानो भएको र लामो समयसम्म काम गर्न छाडेको भनी क्षेत्रलाई जानकारी गराए पनि नयाँ ब्याट्री क्षेत्रले पठाएको छैन, क्षेत्रले नयाँ ब्याट्री पठाए पनि घामको भरमा मात्र २४ सै घण्टा भने सेवा प्रदान गर्न सकिँदैन ।” जिल्लाका छ स्थानका बिटिएस टावर सौर्य ऊर्जाबाट मात्र सञ्चालन हुँदै आएका छन् । चिचिला गाउँपालिकाको छ्याङ्कुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले र माक्पालुङ, सिलिचोङ गाउँपालिकाको रमितेमा सौर्य ऊर्जाबाट बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको छ ।

भोटखोला गाउँपालिकाको किमाथाङ्कामा रहेको टावर प्रत्यक्ष भिस्याट (स्याटेलाइट)मार्फत् सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी नेपाल टेलिकमले सङ्खुवासभामार्फत भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सौर्य ऊर्जाबाट बिटिएसमार्फत मोबाइल सेवा प्रदान गरिरहेको छ । खाँदबारी शाखाले भोजपुरको दिङ्लामा पनि ल्याण्डलाइन फोन वितरण गरेको छ । जिल्लामा करीब सात स्थानका टावरमार्फत एनसेल कम्पनीले मोबाइल सेवा प्रवाह गरिरहेको छ । खाँदबारी शाखाले भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरिएको छ । शाखाले जिएसएम आठ, सिडिएमए पाँच र ल्याडलाइन सेवा पाँच स्थानबाट सञ्चालन गरिरहेको छ । खाँदबारी शाखाबाटै भोजपुरका षडानन्द नगरपालिकाको दिङ्लामा ल्याण्डलाइन सेवा, षडानन्दकै झ्याउँपोरी र साल्पासिलिछो गाउँपालिकाको कुलुङमा जिएसएम सेवा प्रदान गरेको छ । रासस

प्रतिक्रिया