अलैँचीले फर्कायो विद्यार्थी

शर्मिला गुरुङ

लमजुङ, ६ मङ्सिर  :  गाउँघरका मानिस शहरबजार पसेसँगै खाली जस्तै भएको मस्र्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउन थालेका छन् ।

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयवासीको सक्रियतामा गाउँमा अलैँची खेती विस्तारसँगै गाउँमै रहेको सृजना प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि हुन थालेको हो । कक्षा १ देखि ३ सम्म रहेको उक्त विद्यालयमा विस्तारै विद्यार्थी सङ्ख्यामा वृद्धि हँुदै गएको छ । गत वर्ष चार जना मात्र विद्यार्थी रहेको सृजना प्राविमा यो वर्ष १४ विद्यार्थी नियमित विद्यालयमा आउने गरेको विद्यालयमा प्रधानाध्यापक नौजङ्ग गुरुङले बताउनुभयो ।

उहाँका अनुसार दुई विद्यार्थी कहिलेकाहीँ मात्र विद्यालय आउँछन् । गाउँघरमा नै बिस्तारै शहर बजारको सुविधा पाउन थालेपछि बजार झरेका गाउँमा नै बस्न थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । “गाउँका प्रत्येक घरमा पानीको धारा जडान गरिएको छ । मोटरबाटो घर छेउमै छ । अलैँचीबाट राम्रो आम्दानी भएको छ,” उहाँले भन्नुभयो, “शहरबजारकै सुविधा गाउँमा भएपछि शहर पसेकाहरु पुनः गाउँमा नै फर्केर बालबच्चा पढाउन थालेका छन् ।”

विसं २०४४ मा स्थापना भएको विद्यालयमा शुरुआती चरण विद्यार्थीको सङ्ख्यामा वृद्धि भए पनि पछिल्लो समयमा विद्यालय खाली जस्तै भएको थियो । अलैँचीबाट मनग्य आम्दानी हुन थालेपछि स्थानीयवासीले आफ्ना बालबच्चालाई शहर पढाउन थालेका थिए । गाउँ छेवैमा रहेको विद्यालय अन्यत्र जाँदा पछिलो समय गाउँमा समस्या हुने भन्दै शहर बजारमा झरेकाले आफ्ना बच्चालाई गाउँमै पढाउन थालेका हुन् । प्रधानाध्यापक गुरुङका अनुसार विद्यालयले स्थानीयवासीसँग पटक पटक अनुरोध गरेपछि बजारमा बस्ने गरेका अभिभावकले पुनः गाउँकै विद्यालयमा बालबच्चा पढाउन थालेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रिमाया तामाङले पछिल्लो समय विद्यालयमा विद्यार्थी सङ्ख्यामा वृद्धि हँुदै गएको बताउनुभयो । उहाँका अनुसार गाउँलेलाई जुटाएर विद्यालय मर्ज हुनबाट जोगाउन शहरमा रहेका बालबच्चालाई गाउँकै विद्यालयमा फर्काउन अनुरोध गरेपछि पुनः विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो ।

गत वर्ष विद्यालयमा कक्षा १ मा तीन, २ मा एक र ३ कक्षामा विद्यार्थी नै थिएनन् । अहिले बाल विकासमा १०, कक्षा १ मा चार, २ मा एक र ३ मा एक जना विद्यार्थी छन् । कार्यालय सहयोगी र सरकारी दरबन्दीका दुई शिक्षक गरी तीन जना कर्मचारी रहेका छन् । ५२ घरधुरी रहेको छिनखोला गाउँका करीब ३५ घरधुरीका मानिस मात्रै गाउँमै बसोबास गर्ने गरेका छन् । बाँकी शहर जाने र समय–समयमा फर्कने गर्छन् । गाउँका सबै बालबालिकालाई गाउँमै ल्याएर पढाउने वातावरण बनाउने लक्ष्य रहेको विद्यालयका प्रअ गुरुङले बताउनुभयो । रासस

प्रतिक्रिया