अविरल वर्षाले नेपालगञ्ज डुबानमा

राष्ट्रिय समाचार समिति

राँझा, १ असोज: आज बिहानैदेखि परेको अविरल वर्षाले नेपालगञ्ज डुबानमा परेको छ । यहाँको न्यूरोड र घरबारी टोल क्षेत्रका अधिकांश पसलमा पानी छिरेको छ । नेपालगञ्जको सेतु विक चोक र न्यूरोड क्षेत्रका अधिकांश पसलमा पानी पसेको न्यूरोडका स्थानीय व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करीब आधा दर्जन बढी पसल डुबेका छन् । पानीको सहज निकास नहुँदा घरबारी टोलका ११ वटा घर तथा पसल डुबेका छन् । सडकमा पानी जम्मा हुँदा आवतजावत गर्नसमेत समस्या भएको छ ।

न्यूरोडमै व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले डुबान समस्याले न्यूरोड क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्दै गएको बताउनुभयो । नेपालगञ्जका अन्य वडा तथा टोलका केही घर तथा पसल पनि डुबेका छन् । कारकाँदोमा रहेको प्रहरीको अस्पताल र कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा पानी पसेपछि आवागमन र कामकाजमा समस्या भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयका केही भवनसमेत डुबानमा परेका छन् । जानकी र खजुरा गाउँपालिकाका विभिन्न वडा पनि डुबानमा परेका छन् । खजुरा गाउँपालिका–७ मा आधा दर्जन बढी घर डुबेका छन् । त्यहाँ उद्धारका लागि प्रहरी परिचालित भएको छ ।

सतर्कता अपनाउन आग्रह
जिल्ला दैवी प्रकोप उद्धार समितिले आज बिहानैदेखि परिरहेको अविरल वर्षाले थप क्षति पु¥याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अविरल वर्षाले पु¥याएको क्षतिबारे बुझ्ने काम भइरहेको जानकारी दिँदै निरन्तर वर्षा भइरहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

नेपालगञ्ज क्षेत्रमा वर्षा भए पनि जिल्लाको पूर्वी क्षेत्र र दाङ तथा प्यूठानमा ठूलो वर्षा नभएकाले राप्ती नदीको कुसुमस्थित बाढी मापन केन्द्रमा राप्ती नदीको सतह सामान्य रहेको छ । प्रहरी उपरीक्षक वलीले बाढी र डुबानबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले नेपालगञ्ज, खजुरा क्षेत्र डुबानमा परे पनि राप्दी नदीमा भने पानीको सतह अहिलेसम्म नबढेको बताउनुभयो ।

नेपालगञ्जलाई डुबानमुक्त बनाउन अधिकांश सडक र नाली निर्माण गरिए पनि समस्या भने कायमै रहेको छ । सामान्य वर्षाद्ले पनि नेपालगञ्जको मुख्य बजार क्षेत्र न्यूरोड, घरबारीटोल, गणेशपुर, बसपार्कलगायतका बजार क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभए पनि जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार डुबान भएका स्थानमा पानीको बहाव खोल्नका लागि उपमहानगरपालिकाका कुचीकार र प्राविधिक शाखाका कर्मचारी जेसिभीसहित तैनाथ रहेका छन् ।

“शहरमा डुबान हुन नदिन नाली बनिरहेका छन्, तर पनि डुबानमुक्त हुन सकेको छैन ।”, प्रवक्ता रिजालले भन्नुभयो, “पानी निकासको वैज्ञानिक स्थायी निकास नहुँदासम्म समस्या भइरहन्छ ।” एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले शहरी विकास आयोजना, परियोजना कार्यान्वयन एकाइअन्तर्गत सडक तथा नाला निर्माणको काम गरिरहेको छ ।

न्यूरोड क्षेत्रमा डुबान हुन नदिन गत वर्षमात्रै उचाइ बढाएर सडक तथा नाली निर्माण भएको थियो । प्रवक्ता रिजालले समथर भू–भाग भएकाले सहज तरिकाले पानीको निकास हुन नसक्दा डुबान हुने गरेको बताउनुहुन्छ ।

प्रतिक्रिया