आगलागीबाट घरवारविहीन पीडितलाई जस्तापाता सहयोग

कृष्ण रोकाया

दमक, २८ पुस : दुई दिनअघि आगलागीबाट घरवारविहीन हुनुभएका झापा दमक नगरपालिका–२ स्थित डाकिनीका हरिप्रसाद निरौलालाई वडा कार्यालयले घर बनाउन जस्तापाता सहयोग गरेको छ ।

सिलिण्डर ग्यास पड्किएर निरौलाको काठेघर जल्नुका साथै तीन पशुचौपायासमेत जलेर मरेका थिए । आगलागीपिडित निरौला परिवारलाई पुनःस्थापित गराउन वडा कार्यालयले घर निर्माणका लागि चाहिने जस्तापाता सहयोग गरिएको वडाध्यक्ष प्रजापति सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार पीडितलाई करीब रु ४४ हजार १६० मूल्य बराबरको जस्तापाता सहयोग गरिएको हो । यस्तै घर निर्माणका लागि वडाध्यक्ष सापकोटाले व्यक्तिगत रूपमा नगद रु पाँच हजार, गुणराज थापाले रु १० हजार, श्रीकृष्ण प्रणामी युवा परिषद्ले रु १० हजारसमेत पीडित परिवारलाई सहयोग गर्नुभयो ।

पितृको स्मृतिमा विद्यालयमा प्रवेशद्वार निर्माण

झापाको कमल गाँउपालिका–५ स्थित मङ्गलमय माध्यमिक विद्यालयमा एक दाताले आफ्ना दिवङ्गत पितृको स्मृतिमा प्रवेशद्वार निर्माण गरिदिनुभएको छ ।

विद्यालयका पूर्वअध्यक्ष तथा जग्गादातासमेत रहनुभएका स्व सन्तकुमार वान्तवाको स्मृतिमा उहाँका श्रीमती कृष्णकुमारीसहित छोरा कमल, गणेश र भिष्म राईले करीब रु ७५ हजारको लागतमा प्रवेशद्वार निर्माण गरिदिनुभएको हो ।

विद्यालयको ४७औँ वार्षिकोत्सवका अवसर पारेर नवनिर्मित प्रवेशद्वारको प्रदेशसभा सदस्य अर्जुन राई, गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले शुक्रबार उद्घाटन गर्नुभएको प्रधानाध्यापक मोहनकुमार वगालेले बताउनुभयो ।

त्यस्तै, विद्यालयमा सुस्तश्रवण विद्यार्थीका लागि निर्मित दुईकोठे पक्की छात्राबास भवनको समेत उद्घाटन गरिएको थियो । उक्त भवन जिल्ला शिक्षा समन्वय एकाइमार्फत प्राप्त रु १७ लाखको बजेटमा निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णानन्द शर्माले बताउनुभयो । विशेष कक्षामार्फत विद्यालयमा ३० सुस्तश्रवण छात्रछात्रा आवासीय रुपमा अध्ययनरत रहेका छन् । रासस

प्रतिक्रिया