आज देशभर कुकुर तिहार मनाइँदै, यस्ता छन् कुकुरसम्बन्धी रोचक जानकारी

मनिषा थापा

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन हो । यस दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने गरिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ। कुकुर यमराजको अर्को प्रीयभक्त हो।

कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास रहेको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ ।

कार्तिक कृष्ण चतुर्दशी (प्रचलित पञ्चांगका भाषामा यमपञ्चकको दोस्रो दिन) कुकुरको पूजा गर्ने चलन छ, नेपाली हिन्दु समाजमा। कुकुरले यो एक दिन मानिसहरूबाट निकै सम्मान पाउँछन्। टाउकै रंगिनेगरी रातो टिका। गलामा सयपत्री र गोदावरी फूलको माला। मानिसले खानुभन्दा अघि नै तातो दाल, भात, तरकारी र अन्य मिष्ठान्न दिने गर्छन । घरमा पालिएकाको कुरा छोडौं, गल्ली गल्ली भौँतारिने भुस्याहा कुकुरले समेत ठूलै ‘मेजमानी’ पाउँछन्, यो दिन। एउटैले दुई चार घरपरिवारकै सम्मान पाउँदा त थेगिसक्नुको हुँदैन शरीर।

नरक चतुर्दशी बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको मानिन्छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ । सनातन हिन्दु धर्ममा कुकुरको स्थान घरबाहिरै बताइएको छ। जति नै नुहाइधुवाइ गरेर राजसी ठाँटमा वा बाँधेरै राखे पनि मौका पाउनेबित्तिकै फोहोरजन्य पदार्थ खानु कुकुरको गुण हो। त्यसकारण धर्मशास्त्रहरूले कुकुरलाई घरभित्र निषेध गरेका छन्। खाना, पूजासामग्री कुकुरले छुँदा अपवित्र ठान्छन् ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ।

प्रतिक्रिया