आज वि.सं. २०७५ पौष २५ गते बुधबारको राशिफल हेर्नुहोस

admin

आज वि.सं. २०७५ पौष २५ गते बुधबार तदनुसार ई. सं. २०१९ जनवरी ०९ तारिख, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), डेरा सर्ने, पौष शुक्लपक्षको तृतीया तिथि, दिउँसो १२:१६ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, धनिष्ठा नक्षत्र, मध्यरात्रीपछि १२:५३ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, आजको चन्द्रमा मकर राशिमा, दिउँसो ११:३५ बजेसम्म, त्यसपछि कुम्भ राशिमा, सिद्धि योग, मध्यरात्रीपछि ०४:११ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा गर करण दिउँसो १२:१६ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०१:२१ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२४ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:११ देखि ०१:२९ सम्म, यमघण्ट : बिहान ०८:१६ देखि ०९:३४ सम्म, गुलिक काल : दिउँसो १०:५३ देखि १२:११ सम्म, आजको वारवेला :– लाभ वारवेला : बिहान ०६:५८ देखि ०८:१६ सम्म, साँझ ०४:०५ देखि ०७:०६ सम्म र मध्यरात्रीपछि ०५:१६ देखि ०६:५८ सम्म, उद्वेग वारवेला : दिउँसो ०१:२९ देखि ०२:४७ सम्म र बेलुका ०७:०६ देखि ०८:४७ सम्म, शुभ वारवेला : दिउँसो १०:५३ देखि १२:११ सम्म र बेलुका ०८:४७ देखि १०:२९ सम्म, अमृत वारवेला : बिहान ०८:१६ देखि ०९:३४ सम्म र बेलुका १०:२९ देखि १२:११ सम्म, चर वारवेला : दिउँसो ०२:४७ देखि ०४:०६ सम्म र मध्यरात्रीपछि १२:११ देखि ०१:५३ सम्म, रोग वारवेला : दिउँसो १२:११ देखि ०१:२९ सम्म र मध्यरात्रीपछि ०१:५३ देखि ०३:३४ सम्म, काल वारवेला : बिहान ०९:३४ देखि १०:५३ सम्म र मध्यरात्रीपछि ०३:३४ देखि ०५:१६ सम्म

आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।

प्रतिक्रिया