आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दोको सहभागिता नहुने सम्भावना

admin

काठमाडौँ, १७ मङ्सिर : आठौँ राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुरु भइसकेको छ । तर तेक्वान्दोको जिल्ला छनोट भने एकाएक रोकिएको छ ।राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले लामो समयदेखि विवाद रहँदा तेक्वान्दोको खेलाडी छनोटमा अप्ठ्यारो परेको भन्दै जिल्ला छनोट रोक्न जिल्ला खेलकूद विकास समितिलाई निर्देशन दिएपछि खेलाडी छनोट रोकिएको हो ।

तेक्वान्दोमा दुई सङ्घ अस्तित्वमा रहँदा काम गर्न अप्ठेरो परेको निष्कर्षसहित राखेपले राष्ट्रिय खेलकूदको जिल्ला छनोटमा तेक्वान्दोलाई समावेश नगर्न परिपत्र जारी गरेको छ । राखेपले दुई सङ्घ एक नहुदाँसम्म राष्ट्रिय खेलकूदमा तेक्वान्दोलाई सहभागी नगराउने स्पष्ट पारेको छ । राखेपको ११० औँ बोर्ड बैठकले तेक्वान्दो विवाद समाधान गर्न आग्रह गर्दै दुवै सङ्घलाई एक साताको समय दिएर गत कात्तिक २७ गते दुवै सङ्घलाई पत्र पठाएको थियो । तर अहिलेसम्म दुई सङ्घबीचको विवाद मिल्न नसक्दा आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दाले सहभागिता जनाउन नपाउने सम्भावना बढेर गएको राखेपका जनसम्पर्क अधिकृत लोकेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

अहिले विश्व तेक्वान्दो महासङ्घले सम्बन्धन दिएको प्रकाशशम्शेर राणा नेतृत्वको नेपाल तेक्वान्दो सङ्घ र शिव कोइरालाको नेतृत्वमा नेपाल तेक्वान्दो युनियन अस्तित्वमा छन् । तर दुवै सङ्घ अहिलेसम्म सकारात्मक नदेखिँदा तेक्वान्दोको विवाद सधैँका लागि समाप्त पार्न विघटन नै गर्नुपर्ने अवस्था आएको राखेपले जनाएको छ । एशियन खेलकूद प्रतियोगितामा ऐतिहासिक पहिलो रजत, दक्षिण एशियाली खेलकूदमा सर्वाधिक स्वर्ण जित्ने तथा छनोट चरण पार गरी ओलम्पिक खेलमा सहभागिता जनाउने खेल तेक्वान्दो हो । पछिल्लो समय दुई समानान्तर सङ्घ रहँदा यो विवादित बनिरहेको छ ।

प्रदेश ५ को दाङ, नेपालगञ्जलगायत स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि विभिन्न जिल्लामा छनोट प्रतियोगिता यही मङ्सिर १४ गतेदेखि शुरु भएको थियो । अघिल्लो असोज अन्तिम साता नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकूद परिषद्को बोर्ड बैठकले मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय भएको खेलकूद प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय गरेको थियो ।
-रासस

प्रतिक्रिया