आनोले सताउँछ ? के छन् रोकथाम र उपचार विधि ??

मनिषा थापा

आनो अर्थात् ‘स्टाइ’ आँखामा ब्याक्टेरियाले गर्दा हुने संक्रमण हो। परेलामा भएको बोसोयुक्त ग्रन्थिमा जीवाणुका कारण गर्दा संक्रमण भएपछि परेलाको डिलमा पीडादायक गाँठो हुन्छ। बोलिचलिको भाषामा भन्ने हो भने, परेलाको जरो वा परेलाको तेल ग्रन्थिमा पिप जम्नु नै आनो हुनु हो।

आनोमा रातो पीडायुक्त घाउ/खटिरा भएको गाँठो परेलामा रौं भएको ठाउँमा देखिन्छ। यो परेलाको रौं उमि्रने ठाउँको प्वालमा भएको ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ। बुढापाकाहरुले भनेजस्तो ‘झुट बोल्दा आनो आउँछ’ भन्ने कुरा चाहिँ गलत हो।

सामान्यतया यसले आँखाको दृष्टिमा कुनै खराबी नगरे पनि कसैमा भने बारम्बार दोहारिएर दुःख दिने गर्छ। परेलामा चायाको समस्या, मधुमेह, आँखा धेरै मिचिरहने बानी जस्ता कारणले आनो निस्किने गर्छ। यो जुनसुकै उमेर समूहका मानिसलाई हुने समस्या हो। विशेषगरी बालबालिकामा आनो बढी देखिने गर्छ।

लक्षण

  • आँखा चिलाइरहनु,
  • आँखाको परेलीका बाहिरी भाग सुन्निनु र जराको भागमा खटिरा आउनु,
  • आँखाको ढकनी बिस्तारै सुन्निदै गई दुख्न सुरु हुनु,
  • उक्त खटिरा रातो हुनु,
  • आँशु धेरै आउनु,
  • आँखाबाट चिप्रा निस्किनु
  • घाममा हेर्न मुस्किल पर्नु, आदी।

उपचार

  • सफा नरम कपडा पानीमा भिजाएर दिनमा ३–४ पटक सेक्नुपर्छ।
  • आखाँलाई सधैँ सफा राख्नुपर्छ तर मिच्नु हुँदैन।
  • आनो आएको बेला आँखाको मेकअप गर्नु हुँदैन।
  • चिकित्सको सल्लाहबिना बजारमा पाउने औषधिको प्रयोग गर्नु हुँदैन।
  • अत्यधिक दुखेमा दुखाइ कम गर्ने ट्याब्लेटहरुको प्रायेग गर्न सकिन्छ।
  • आँखा धेरै सुन्नियो, धेरै दुख्यो, पिप या रगत निस्किन थाल्यो, ज्वरो आयो भने तुरुन्त स्वास्थ्य संस्था गएर जँचाउनुपर्छ।

रोकथाम

  • आँखा सधैँ सफा पानी धुनुपर्छ।
  • आखाँ चिलायो भनेर मिच्नु हुँदैन। त्यसरी मिच्दा हातमा भएको वा परेलामा रहेको फोहोरले संक्रमण हुन सक्छ।
  • फोहोर हातले आँखा छुनु हुँदैन।
  • आखाँ संवेदनशील अंग भएकाले मेकअपका सामग्री जथाभावी प्रयोग गर्नु हुँदैन।
  • कमसल सामानको प्रयोगले आँखामा इन्फेक्सन हुन सक्छ
  • । कन्ट्याक लेन्स प्रयोग गर्नेले लेन्स लगाउँदा र निकाल्दा हात राम्ररी धुनुपर्छ।
  • लेन्सलाई पनि राम्ररी ‘डिसइन्फेक्ट’ गरेर मात्र प्रयोग गर्नुपर्छ।
  • आनो बालबालिकामा बढी देखिन्छ। तर बारम्बार दोहोरिएको खण्डमा आँखा जाचँ गराउनुपर्छ।
  • यसरी आनो बारम्बार आउनु भनेको बालबालिकाको दृष्टिसँग सम्बन्धित समस्या पनि हुन सक्छ।
  • दृष्टिमा समस्या भए समयमै परीक्षण गरेर चस्मा लगाउनुपर्छ। धुलो, धुवाँ र फोहोरबाट आखाँलाई सुरक्षित राख्नुपर्छ।
  • औषधि पसल गएर आफैं इच्छाअनुसार आखामा औषधि हाल्नु हुँदैन।
  • परेलाका तन्तुहरूमा संक्रमण हुन सक्ने भएकाले आनो वा क्लेजियनलाई हातले निचोर्नु हुँदैन भने यसलाई बाहिरसमेत निकाल्नु हुँदैन।
  • आनोसँगै आँखामा कन्जङटिवाटिस, सेलुलाइटिस जस्तो समस्या हुन सक्छ। यस्ता संक्रमण हुन त सामान्य हुन्छन्, तर बेलैमा उपचार हुन नसके आँखाको स्वास्थ्य जटिल स्थितिमा पुग्न सक्छ।

प्रतिक्रिया