आर्थिकस्तर उकास्न सरकार लागिपरेको छ : मन्त्री महासेठ

admin

लहान, ७ वैशाख  : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तराई–मधेश जनताको आर्थिकस्तर उकास्न सरकार लागिपरेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्र योजना र बन्दीपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्र सडक योजनाको आज शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले तराई–मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजना अघि सारेको बताउनुभयो । 

“बजेट पर्याप्त छ, भएको बजेटलाई समयमै सकाउन सकिए विकासको लहर आउँछ”, मन्त्री महासेठले भन्नुभयो, “त्यसका लागि जनप्रतिनिधि इमान्दार हुनुपर्छ ।” तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत सिरहामा मात्र चालू आर्थिक वर्षमा ३२ वटा विकासका योजना ल्याएको बताउनुहुँदै उहाँले सिरहा, सप्तरी, धनुषालगायत मधेशका सबै जिल्लालाई प्राथमिकतामा राख्दै विकास अगाडि बढाएको उल्लेख गर्नुभयो ।  

 

मन्त्री महासेठले पूर्व–पश्चिम राजमार्ग छ लाइन, प्रदेश नं २ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सिरहाको कर्जन्हाको बन्दीपुर उत्तरवाहिनी सडकलाई सिन्धुली, दुधौली र कटारी जोड्ने सडक छिट्टै विस्तार गरिने जानकारी दिनुभयो । कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता अजयशङ्कर नायकले कर्जन्हा नगरपालिकामा सौन्दर्य झल्किने धेरैजसो स्थान रहेकाले यसलाई विकास र प्रचारप्रसार गरेर नगरलाई सौन्दर्य झल्किने स्थानका रुपमा निर्माण गर्नुपर्ने बताउनुभयो । 

-रासस

प्रतिक्रिया