आर्मी र एपिएफ फाइलनमा

admin

काठमाडौँ, १० मङ्सिर : सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब प्रधानसेनापति छैटौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । जङ्गीअड्डास्थित खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० गोलले पराजित गर्दै एपिएफ फाइनल पुगेको हो ।

एपिएफको जीतमा सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरिन् । खेलको ३५औँ मिनेटमा सावित्राले अनिताको पासमा गोल गरिन् । त्यस्तै खेलको ६९औँ मिनेटमा अनिताले गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसको एक मिनेटपछि नै एपिएफले पेनाल्टी पायो ।

मोनिका पुलामी मगरले गोललाइन नजीक हातले बल छोएपछि सिधै रातो कार्ड पाइन् । पेनाल्टीलाई सावित्राले गोलमा परिणत गर्दै ३–० को जीत दिलाइन् । आजै भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं २ लाई ४–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । फाइनल खेल यही मङ्सिर १२ गते हुनेछ ।
-रासस

प्रतिक्रिया