आवधिक योजना जनमुखी हुनुपर्छ: डा देवकोटा

admin

हेटौँडा, १५ असोज: प्रदेश नं. ३ का नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यावहारिक र जनमुखी योजनालाई साझा सहमतिबाट कार्यान्वयन गर्न प्रदेश सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । आयोगद्वारा यहाँ आयोजित ‘प्रदेश नं. ३ को आवधिक विकास योजनाको आधारपत्र तर्जुमा’ सम्बन्धी कार्यशाला गोष्ठीको समापन समारोहमा उहाँले राष्ट्रिय योजना आयोगबाट निर्देशित हुने योजनालाई अब समयानुकूल परिर्वतन गर्दै जनताको चाहना अनुरुप अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जनताकै चाहना र सहभागितामूलक योजना तर्जुमा गरी त्यसको व्यावहारिक कार्यान्वयनबाट प्रदेशको विकास र समृद्धिमा लाग्नुपर्ने बताउनुभयो । कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री दावादोर्जे तामाङले दुर्गम भेगमा बस्ने जनताका लागि कृषि, उद्योग, पर्यटन, वनस्पतिबाट आत्मनिर्भर बन्ने योजनालाई सरकार र स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले बहुसंख्यक जनतालाई दिगो लाभ पुग्ने कृषि, पर्यटन, उद्योग, उर्जा उत्पादनलगायत योजनालाई एउटै संयन्त्रबाट परिचालन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । योजना विज्ञ प्रा डा पीताम्बर शर्माले दिगो विकासका लागि लाभ पुग्न सक्ने योजनालाई छनोट गर्नुपर्नेमा जोड दिदैं योजना कार्यान्वयन प्रणालीलाई दलगत स्वार्थभन्दा माथि उठेर अगाडि बढाउनुपर्ने बताउनुभयो । गोष्ठीमा योजनाविद् प्रा डा गोविन्द नेपाल, डा दिनेश भुजु, इञ्जिनियर कृष्णप्रसाद सापकोटा, प्राविधिक जगनाथ अधिकारी र पूर्वसचिव पूर्ण चन्द भट्टराईले योजना सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभयो ।
-रासस

प्रतिक्रिया