‘इञ्जिनीयरको काँधमा मुलुक निर्माणको जिम्मेवारी’ :नेता खनाल

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३ साउन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले देश पुनःनिर्माण गर्न इञ्जिनीयरहरुको काँधमा थप जिम्मेवारी आएको बताउनुभएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशनको ५७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकमा लामो सङ्घर्षपछि राजनीतिक पूर्वाधार तयार भएको र अव विकास निर्माणका पूर्वाधारमा केन्द्रित हुनुपर्ने बताउनुभयो । मुलुकको स्रोत साधन परिचालन गरेर सबै विकास निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

नेता खनालले विकास निर्माणमा इञ्जिनीयरको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकार देश निर्माण तथा मुुलुक समृद्धिको यात्रामा अघि बढेको बताउनुभयो । सरकारको यस अभियानमा इञ्जिनीयरलगायत प्राविधिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान साकार बनाउन इञ्जिनीयरको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाली इञ्जिनीयर योग्य र सक्षम भएको र उनीहरुलाई आयोजनाका सबै प्रक्रियाको जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले मुलुकमा अव सुशासन र तीव्र विकासको खाँचो रहेको आंैल्याउनुभयो । आयोगले त्यसका लागि २५ वर्षे दीर्घकालीन सोच र १५औँ आवधिक योजनामा गरेका भौतिक पूर्वाधार योजनाका बारेमा उहाँले जानकारी गराउनुभयो ।

एशोसियशनका अध्यक्ष त्रिरत्न बज्राचार्यले संस्थाका गतिविधि र मागका बारेमा जानकारी गराउनुभयो । उहाँले इञ्जिनीयरबिना पूर्वाधार विकास नहुने र पूर्वाधार विकासबिना मुलुकको विकास नहुने बताउनुभयो । कार्यक्रममा इञ्जिनीयरका विविध क्षेत्रमा उत्कृष्टता हासिल गर्ने इञ्जिनीयर विन्दुनाथ लोहनी, गुरुप्रसाद शर्मा, विकास श्रेष्ठ, मिङ्मा दोर्जे शेर्पा, चन्द्रलक्ष्मी हाडा र दिपेन्द्र गाौतमलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया