उजेलीले भनिन्, ‘म जस्तै अरु धेरै उजेलीहरुलाई बाटो दिनुहोला’

मनिषा थापा

पिएनपिखबर : इन्टरनेट र सामाजिक सञ्जालको जमाना छ अहिले । प्रतिभा भएका, राम्रो वा अलि फरक काम गर्नेलाई युट्युब र फेसबुकले रातारात सेलेब्रिटी बनाइदिन्छ । उजेलीकै कुरा गरौं । युट्युबमा सर्च गर्दा अचेल सिन्धुपाल्चोकको विकट गाउँ सेलाङकी उजेली तामाङ छरप्रष्ट भेटिन्छीन् ।

आजभन्दा ठ्याक्कै तिन वर्षअघि नेपाल टेलिभिजनबाट एउटा डकुमेंट्री प्रसारण भएको थियो । जम्मा दुई भागको ‘बाँचेका मान्छेहरू’ नामक शृंखला खुब चर्चित बनेको थियो । साझा सवालको उक्त भाग धेरैले हेरे, नौलो र प्रभावकारी पनि थियो। त्यो बेला नेपालमा मात्र होइन, ‘नेपाली टाइम्स’ पत्रिकाका अनुसार विभिन्न देशका २० वटा टीभीले त्यसलाई प्रसारण गरेको थियो । त्यसमा उजेली नामकी वास्तविक चरित्रको एउटा साधारण प्रश्नले धेरैलाई रूवायो, धेरैलाई सोच्न बाध्य बनायो।

उजेलीले नायक राजेश हमाल र पत्रकार विद्या चापागाईंसँग भनेकी थिइन्, ‘हाम्रो गाउँको मान्छेले त पढ्न पनि पाउँदैन। दु:ख गरेर खान्छ। सानैमा बिहे गरेर अर्कोको घरमा जान्छ। तेत्तिकै जीवन बित्छ। हाम्रो गाउँको मान्छेले चैँ कहिले पनि सुख पाउँदैन कि के हो?’

त्यसबेला उनको आँखामा आँसु थियो। आँसु एक बालिकाको थियो, जो पढ्न चाहन्थिन्। ह्रृदयविदारक उक्त बोली सुनेर ढुंगो पनि आफ्नो धर्म भुलेर रसाउन सक्थ्यो। उनले आँसु झार्दै भनेकी थिइन्, ‘मेरो बिहेका लागि मान्छेहरू माग्न आएका छन् तर मलाई पढ्न मन छ। पढेर यो गाउँको मुहार फेर्ने रहर छ।’ लगभग तीन वर्ष अगाडि लोकप्रिय नायक राजेश हमाल भूकम्पले तहसनहस पारेको सिन्धुपाल्चोक पुगेका थिए। भूकम्पले कतिको मृत्यु भयो, कति घरबार विहीन भए। घरबार विहीन भएका परिवारमध्ये एक थियो- सेलाङ गाउँको उजेलीको परिवार। त्यसबेला उनका लागि काठमाडौं एउटा अन्जान शहर थियो। उनले चौताराभन्दा यता नआएको बताएकी थिइन्। यो भनाइ उनले बाँचेको त्यस बेलाको समयको हो।

उनी भाग्यले अहिले काठमाडौंमा पढ्छिन्। मेलापात र घरदैलोको दैनिकीबाट पर रहेर उनी दिनभर पढ्छिन् र बिहान-बेलुका संगीतको धूनमा रमाउँछिन्। कम्मर भाँचेर नाच्छिन्। तेक्वान्दो सिक्छिन्। तेक्वान्दोमा उनले अहिले रेड बेल्ट पाइसकेकी छन्।

तेक्वान्दोले आत्मरक्षाका लागि ठूलो भूमिका खेल्ने उनी बताउँछिन्। उनले नाच सिकेकी छन्। संगीतमा पनि उनले राम्रो प्रगति गरेकी छन्। गितार बजाउन पनि उनले जानिसकेकी छन्। उनका लागि सामाजिक शिक्षा एकदमै सजिलो र मनपर्ने विषय हो। अंग्रेजी उनलाई अलिक असजिलो लाग्छ। यद्यपि, अंग्रेजी सुधारका लागि मिहिनेत गरिरहेको उनले बताइन्। अहिले उनको फेरिएको दैनिकी देख्दा उनी स्वयंलाई सपना लाग्छ।

भुवालडाँडा, बौद्धस्थित उनी पढ्ने जेनेसिस एकेडेमी पुग्दा उनी अभिभावक दिवसको लागि तयार गरिरहेकी थिईन्। उनलाई पढेर शिक्षिका बन्ने रहर छ। यो उनको मनबाट निस्किएको पहिलो र अन्तिम लक्ष्य हो। उनी आफूले सिकेको ज्ञान आफ्नो गाउँलाई दिन चाहन्छिन्। गाउँमा छोरी मान्छेले केही गर्न सक्दैनन् भनेर आफ्ना छिमेकी र अभिभावकले भनेको उनले सुनेकी छन्। यो इख पनि उनमा छ। समय आएपछि छोरीले गर्न सक्छन् कि सक्दैनन् भनेर देखाउने रहर पनि छ। उनी भन्छिन्, ‘हाम्रो गाउँमा विद्यालय छ। म त्यही स्कुलमा पढाउने हो। मैले जे सिकेँ, त्यो सबै ज्ञान मेरो गाउँलाई दिन्छु।’

अहिले उजेलीकी बहिनी जुनेली पनि उजेलीसँगै जेनेसिमा पढ्छिन्। बहिनी अहिले ५ कक्षामा पढ्दै छिन्। उनीहरुले त अन्धकार चिरेर उज्यालो देख्न पाए। तर पर्दामा नआएका अरु उजेलीहरू कति होलान् ? तिनको अवस्था कस्तो होला ? कहिले पाउछन् ति उजेलिले उज्यालो ?

प्रतिक्रिया

सम्बन्धित समाचारहरू