उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँः देउवा

राष्ट्रिय समाचार समिति

पोखरा, ३१ साउन: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले यहाँ आज आयोजना गरेको महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीबाट जसले टिकट पाउँछ त्यसलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिनुभयो ।

“हाम्रो पार्टी दुई पार्टीजस्तो भयो, उनीहरु(एमाले र माओवादी) दुई पार्टी एक भए यो सत्य कुरा हो, अब पार्टी(काँग्रेस) त्यस्तो हुनेछैन”, उहाँले भन्नुभयो, “यो चुनावमा सबै एक भएर लाग्नुपर्छ, कुनै पनि हालतमा पार्टीलाई जिताउनुपर्छ, यहीँबाट नै पार्टीभित्र एकताको शुरुआत हुन्छ,” । “ सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्रहार सरकारले नै गरेको छ, आफ्ना विरोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको छ भन्नुभयो । स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व काङ्ग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उहाँले प्रजातन्त्रसहितको समाजवादमा काँग्रेस स्पष्ट रहेको बताउनुभयो ।

सो अवसरमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले नेकपालाई आशा एवम् भरोसाका साथ दुई तिहाई बहुमत दिएकामा यतिखेर जनता निराश भएको आरोप लगाउनुभयो । नेपाली जनताले भरोसाको केन्द्र खोजेको बताउँदै उहाँले जनताको त्यो चाहनालाई काँग्रेसले पूरा गर्नुपर्ने बताउनुभयो । पार्टीभित्रको गुटबन्दीले काँग्रेसलाई कमजोर बनाउने बताउँदै उहाँले शेरबहादुर, रामचन्द्र कोही नभनी पार्टी भनेर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

लोकतान्त्रिक पार्टी काँग्रेसले आफूलाई पनि लोकतान्त्रिक बनाएर लैजानुपर्ने धारणा राख्दै उहाँले पार्टी अरुको कार्यसूचीमा संसद्मा हडताल गर्ने नभई आफ्नै कार्यसूची लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षणले पार्टीमा रहेका हिजोका कमजोरी हटाउँदै नवीन सोचका साथ सङ्गठनलाई अघि बढाउन महत्वपूर्ण योगदान दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले विगतमा पार्टीभित्रैबाट भएका घातप्रतिघातसमेतले पार्टीले नराम्रो पराजय भोग्नुपरेको बताउँदै आसन्न निर्वाचनमा त्यसबाट माथि उठ्दै सिङ्गो पार्टी पङ्क्ति एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले काँग्रेसका लागि नयाँ चेतना आवश्यक भएको बताउनुभयो । विसं २००७ यताका हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले आगामी दिनमा पनि संविधान एवम् प्रजातन्त्रको रक्षार्थ आफूलाई सशक्त रुपमा अघि बढाउने उहाँको भनाइ थियो ।

पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले धार्मिक एवम् सामाजिक सहिष्णुता कमजोर बनेको वर्तमान अवस्थामा पार्टीको भूमिका सशक्त हुनुपर्ने बताउनुभयो । आसन्न उपनिर्वाचनमा पार्टीलाई सशक्त रुपमा परिचालन गर्दै विजय हासिल गर्नेतर्फ उन्मुख बन्नुपर्ने उहाँको भनाइ थियो । पार्टी केन्द्रीय सदस्य कमला पन्त, प्रष्ठिानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाललगायतले पार्टी सङ्गठनलाई थप सशक्त बनाउन प्रशिक्षण बहुउपयोगी बन्ने धारणा राख्नुभयो । कार्यक्रममा सभापति देउवाले नेत्रविक्रम चन्द समूह परित्याग गरी काँग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई पार्टी सदस्यता प्रदान गर्नुभयो । सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको पनि लोकार्पण गरिएको थियो । प्रशिक्षण शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया