उपत्यकाबाट २३ मेट्रिक टन फोहर व्यवस्थापन

रिता घिसिंग

काठमाडौँ : काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।

वाग्मती सफाइ महाअभियानको ३१५औँ हप्तामा बानेश्वर क्याम्पस अघिको नदी क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत १९ संस्थाका स्वयंसेवीको सक्रियता थियो । यस्तै आलोकनगर सफाइको १११ हप्ताको समूहसमेत वाग्मती सफाइमा सहभागी भएको जनाइएको छ ।

वाग्मतीको तिलगंगा क्षेत्रको २१६औँ हप्ताको सफाइ पनि आज बानेश्वर क्याम्सअघिको क्षेत्रमै गरियो । सफाइमा महानगरपालिका–८ तिलगंगा महिला समूह र आदर्श सेवा नव जीवन केन्द्रको पनि सक्रियतामा थियो । यसैगरी गुह्येश्वरी माथिको वाग्मती सफाइको २७७ हप्तामा गोठाटार पुलमुनिको नदी किनारमा सफाइ गरियो । आज यस क्षेत्रको सफाइ कार्यक्रमबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

रुद्रमती सफाइ अभियानको २६९औँ हप्तामा रातोपुल–सेतोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की सहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको थियो । यसैगरी सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १२५ औँ हप्ताको सफाइ गरियो ।

यस्तै मनोहरा नदी सफाइको ११४औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । चक्रपथ सफाइ अभियानको १११औँ हप्तामा माछा पोखरीबाट गङ्गाहलसम्मको क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । यस्तै आलोकनगर सफाइको १११औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

महिला अभियानकर्मीको बाहुल्यता रहेको सफाइ अभियानले एकै स्थानबाट एक ट्रकभन्दा बढी गाँजा उखेलेको छ । चक्रपथ वाफल खण्ड सफाइको ९३औँ हप्तामा बुद्धपार्कबाट सानो भ¥याङसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्वमन्त्री विक्रमबहादुर थापा पनि सहभागी हुनुहुन्थ्यो ।रासस

प्रतिक्रिया