ऋणको व्याज बढाइनु गलत : महासङ्घ

admin

काठमाडौँ, २० मङ्सिर: नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा ऋणको व्याजदर बढाएकामा गुनासो गरेको छ । एकतर्फीरुपमा व्याज बढाउँदा उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै महासङ्घले लगानी निरुत्साहित हुन सक्नेतर्फ चिन्ता व्यक्त गरेको छ । नयाँ परियोजना ल्याउन नसकिरहेको अवस्थामा एकतर्फीरुपमा ऋणको व्याज बढाइनुसमेत गलत भएको महासङ्घले उल्लेख गरेको छ ।

महासङ्घले सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रका जिम्मेवार पदाधिकारीलाई नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्धी क्षमता ह्रास हुन गएकाले उद्योग व्यवसायका क्षेत्रमा नकारात्मक प्रभाव परी लगानीसमेत निरुत्साहित हुन गएको जानकारी गराउँदै आएकोसमेत बताइएको छ ।

बढ्दो व्याजदरले लगानी सङ्कुचित भई सरकारले लिएको आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र थप पाँच लाख रोजगारी वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने स्पष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थाले पुनःहालै व्याजदर वृद्धि गर्नेक्रम शुरु गरेको र अव्यवहारिक ढङ्गले एकतर्फीरुपमा व्याजदर बढाइदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीमा समेत प्रत्यक्ष प्रभाव पर्ने महासङ्घको ठहर छ ।

अस्वभाविक तवरले भइरहेको व्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण कायम गर्न सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई महासङ्घले आग्रह गरेको निमित्त महाप्रबन्धक गोपालप्रसाद तिवारीले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया