एक सय ५७ कैदी एकै पटक बिरामी

राष्ट्रिय समाचार समिति

इलाम, ६ असोज: इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

“एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौधौ परेको छ ।” श्रेष्ठले भन्नुभयो, “धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको छ ।” कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो ।

“शनिबार ७८ मात्र बिरामी थिए । आइतबार बढेर एक सय ५७ को सङ्ख्या पुग्यो ।” श्रेष्ठले भन्नुभयो, “अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको छ ।” कारागारमा हाल २६० कैदी रहेका छन् । जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन् ।

कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ । कार्यालयमा चार जना कार्यालय सहयोगी रहे पनि कार्यालय सहयोगीनै अपुग हुने गरेको श्रेष्ठ बताउनुहुन्छ । “कैदीबन्दीलाई बाहिर निकाल्दा एकजना पठाउनै पर्छ”, उहाँले भन्नुभयो, “२४ सैँ घण्टाजस्तो ड्युटी पर्छ । यहाँ भएको जनशक्तिले धान्न गाह्रो छ ।”

प्रतिक्रिया