एक सातापछि पेट्रालियम पदार्थ सहज आपूर्ति

राष्ट्रिय समाचार समिति

लमही, ४ साउन : ढुवानी व्यवसायीको आन्दोलनका कारण दाङमा रोकिएको पेट्रोलियम पदार्थ आयत आजदेखि सहज भएको छ । गत असार २६ गतेदेखि पेट्रोलियम पदार्थ सहज आपूर्ति हुन नसक्दा दाङमा डिजेल र पेट्रोलको अभाव रहेको थियो ।

ढुवानी व्यवसायी र डिलर एशोसिएशनबीच सहमति भएपछि आजदेखि सहज आपूर्ति भएको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख सुजित पोखरेलले बताउनुभयो । “आजदेखि ढुवानी सहज भएको छ”, उहाँले भन्नुभयो, “अबदेखि नियमित ढुवानी हुनेछ ।”

दाङमा आज मात्रै ८० हजार लिटर पेट्रोल र दुई लाख २० हजार लिटर डिजेल आएको उहाँको भनाइ छ । उक्त पेट्रोलियम पदार्थ दाङका सबै पम्पमा वितरण गरिनेछ । अहिले दाङमा दैनिक करीब ३२ हजार लिटर पेट्रोल र करीब एक लाख लिटर डिजेल खपत हुने सूचना अधिकारी सूर्य आचार्यले बताउनुभयो ।

ढुवानी व्यवसायीले पानी परेमा पेट्रोलियम पदार्थमा नोक्सानी हुने गरेको भन्दै ढुवानी गरेका थिएनन् । नेपालगञ्जदेखि दाङसम्म पेट्रोलियम पदार्थ ल्याउँदा पाँचदेखि ११ डिग्रीको फरक हुने उहाँको भनाइ छ ।

सूचना अधिकारी आचार्यका अनुसार एक डिग्री तापक्रम कम भएमा एक ट्याङ्करमा १५ लिटर डिजेल र २१ लिटर पेट्रोलमा नोक्सानी पुग्छ । यही अनुसार नेपालगञ्जबाट दाङ आउँदा करीब साढे २०० लिटर पेट्रोल तथा डिजेल नोक्सानी हुने गरेकाले पनि ढुवानी व्यवसायीले यस्तो समयमा ढुवानी गर्न मानेका थिएनन् । दाङमा केही पेट्रोल पम्पले भने सिधँै नेपालगञ्जबाट आफैँ ढुवानी गर्ने गरेका छन् । दाङको घाराहीस्थित कञ्चन, जलजला र कालीका पेट्रोलपम्पले सिधँै नेपालगञ्जबाट पेट्रोल ल्याउने गरेको सूचना अधिकारी आचार्यले बताउनुभयो । त्यस्तै देउखुरी क्षेत्रमा पनि यसरी नै पेट्रोलपम्पले सिधैँ ढुवानी गर्ने गरेका छन् । रासस

प्रतिक्रिया