एनआरटीले च्यासललाई हरायो

शर्मिला गुरुङ

काठमाडौँ, २९ जेठ : चौंथो संस्करणको ललित स्मृति अठार वर्षमुनि (यु–१८) फुटबल च्याम्पियनसिपमा न्यूरोड टिम (एनआरटी)ले च्यासल युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा एनआरटीले च्यासललाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद शुरुआत गरेको हो । एनआरटीको जितमा राजन माझीले पहिलो गोल गर्दै खाता खोले । उनले खेल सुरुआती एक मिनेटमा नै पहिलो गोल गरे ।

त्यस्तै खेलको पहिलो हाफको ४४औँ मिनेटमा च्यासलका श्याम लोपचन तामाङले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको पहिलो हाफसम्म १–१ गोलको बराबरीमा टुङ्गिएको खेलमा एनआरटीले खेलको दोस्रो हाफमा तीन गोल थप्यो ।

खेलको ५४औँ मिनेटमा एनआरटीका कृतिशरत्न छुन्जुले एक गोल थपे । त्यस्तै खेलको ८२औँ मिनेटमा एनआरटीका सुजन शर्माले एक गोल गरे भने एनआरटीका लागि अन्तिम गोल खेलको ८७औँ मिनेटमा विवेक राईले गरे । असार ३१ गतेसम्म चल्ने सो प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लब सहभागी छन्। जसमा थ्री स्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, जावला खेल युथ क्लब, सङ्कटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब, ब्रिगेड ब्वाइज र न्युरोड टिम एनआरटी सहभागी छन् ।
अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले तीन लाख प्राप्त गर्दा उपविजेताले रु एक लाख ५० हजार पाउनेछ । रासस

प्रतिक्रिया