‘एमएम कप’ क्रिकेट प्रतियोगिता पुस २१ देखि

admin

काठमाडौँ, १० मङ्सिर : पहिलो संस्करणको ‘एमएम कप’ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुस २१ देखि माघ ७ गतेसम्म इनरुवामा हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा तीन विभागीय, सात प्रदेश, एक स्थानीय र एक पाहुना टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विप्लप घोषले जानकारी दिनुभयो । विजेताले उपाधिसँगै रु चार लाख एक हजार, उपविजेताले रु दुई लाख एक हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५÷२५ हजार पाउनेछन् ।

उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन् । अनुशासित टोलीले १५ हजार र उदीयमान टोलीले १० हजार नगद पाउनेछन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको सन्दर्भमा प्रतियोगिता गर्न लागिएको सो अवसरमा जानकारी दिइयो । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले काठमाडौँबाहिर ठूलो प्रतियोगिता हुन लागेको कारण राखेपले भौतिक र आर्थिक सहयोग गर्ने बताउनुभयो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले स्थानीय क्लबले ५० ओभरको खेल खेलाउन महत्वपूर्ण भएको बताउँदै राष्ट्रिय टोलीका तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।
-रासस

प्रतिक्रिया