एम्बुसमा परी घाइते कटुवाललाई आर्थिक सहयोग

शर्मिला गुरुङ

काठमाडौँ, २७ फागुन : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरमा एम्बुसमा परी घाइते हुनुभएका मीरा कटुवाललाई रु एक लाख आर्थिक सहयोग गरिएको छ । नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम आज काङ्ग्रेसका नेता प्रकाशमान सिंहले कटुवाललाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नेता सिंहले संविधानप्रदत्त प्रजातान्त्रिक अभ्यासअनुसार निर्वाचन हुँदै गर्दा कटुवालसहित काङ्ग्रेसका नेतामाथि आक्रमण हुनु प्रजातान्त्रिक प्रणालीमाथिको आक्रमण भएको बताउनुभयो । नेता सिंहले निर्वाचनका क्रममा घाइते भए पनि प्रजातान्त्रिक पद्धतिलाई अगाडि बढाउन कटुवालले गरेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

“शक्तिको पछाडि मात्र दगुरेर हुँदैन, लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भएर राजनीति गरे काङ्ग्रेस अगाडि बढ्न सक्छ”, उहाँले भन्नुभयो । समाजलाई रूपान्तरण गर्न लोकतान्त्रिक प्रक्रियाको विकल्प नभएको उहाँको भनाइ छ । नेता सिंहले काङ्ग्रेस निर्वाचन समिति सहमतिको आधारमा निर्माण हुनुपर्ने बताउनुभयो ।

घाइते कटुवालले आफ्नो दुःखमा पार्टी र साथीभाइले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । “खुट्टा गुमाए पनि म सँधैभरि पार्टी र आम जनताको पक्षमा काम गर्नेछु”, उहाँले भन्नुभयो ।

विसं २०७४ मङ्सिर १३ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारकोे आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा दनुवारबेँसी गाउँमा भएको विस्फोटमा परी काङ्ग्रेस उम्मेद्वार नारायणबहादुर कार्कीसहित कटुवाल एम्बुसमा परेर घाइते हुनुभएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू