‘ए’ डिभिजन लिग : सरस्वती क्लव विजयी

admin

काठमाडौँ ११ मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा भएको खेलमा सरस्वतीले ब्रिगेड व्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । सरस्वतीको जीतमा विनोद केसी र विदेशी खेलाडी फान्सिस ओकेछुक्वु ओन्यमले एक एक गोल गरे ।

खेल शुरुवातीको तेस्रो मिनेटमा नै सरस्वतीका विनोदले गोल गर्दै पहिलो अग्रता लिए । उनले कप्तान दीपेश श्रेष्ठको पासमा गोल गरेका थिए । तर त्यो सरस्वतीको पहिलो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको सातौँ मिनेटमा नै ब्रिगेड ब्वाइजका अब्दुल करीम हामोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले काजिमले दिएको पासलाई गोलमा परिणत गरेका थिए ।

खेलको दोस्रो हाफमा सरस्वतीले पुनः एक गोल थप्यो । खेलको ५२ औँ मिनेटमा भिक्टरको क्रसलाई सदुपयोग गर्दै फ्रान्सिसले हेडमार्फत गोल गरे । सरस्वतीका सुमन लामा म्यान अफ दि म्याच घोािषत भए । यो जितसँगै सरस्वतीले चार खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको सातांै स्थानमा उक्लेको छ । यता समान चार खेल खेलेको ब्रिगेड ब्वाइज १ जित र ३ हारसहित ३ अङ्कका साथ लिगको एघारांै स्थानमा छ ।
-रासस

प्रतिक्रिया