ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला लोकप्रिय बन्दै

कृष्ण रोकाया

काठमाडौँ, ९ असोज : धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दहचोकस्थित इन्द्रदह मेला लोकप्रिय बन्दै गएको छ ।

चन्द्रागिरि नगरपालिका–१ मा पर्ने उक्त स्थान पर्यटकीयस्थलको रूपमा विकसित हुँदै गएकाले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदह स्नानका लागि यहाँ मेला लाग्ने गर्दछ । मेला भर्नका लागि काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट आउने धार्मिक पर्यटकको आज भीड लागेको छ ।

मेलामा कुनै पनि सङ्कट आइनपरोस् भनेर सोमबार साँझ दह तथा त्यस परिसरमा दीप प्रज्वलन गरिएको थियो । यसै अवसरमा ‘तेस्रो इन्द्रदह पर्यटन महोत्सव’ समेत शुरु गरिएको छ । महोत्सवमा सहभागी पर्यटकलाई यस क्षेत्रका धार्मिक तथा अन्य पर्यटकीय वस्तुस्थितिबारे जानकारी गराइएको छ ।

चन्द्रागिरि नगरपालिका–१ (दहचोक) का वडाध्यक्ष राजेन्द्र केसीका अनुसार मेलामा सहभागी व्यक्तिको सुविधा तथा मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित करीब १०० स्वयम्सेवक खटिएका छन् ।

उहाँले मेला व्यवस्थापनका लागि यस वडाकार्यालयले रु एक लाख उपलब्ध गराएको बताउनुभयो । बिहानैबाट स्नान तथा दर्शनका लागि व्यवस्था गरिएको उक्त स्थानमा साँझसम्म करीब २० हजारले मेला भर्ने अनुमान गरिएको छ ।

नागार्जुन र चन्द्रागिरि डाँडाको मध्यभागमा दहचोकको अग्लो थुम्को सजिएको जस्तो देखिन्छ । पौराणिक कालमा देवताका राजा इन्द्र उक्त दहमा आएर स्नान गरी स्वर्ग गएको बताइन्छ । यस स्थानमा आजका दिन आएर स्नान गरेमा सुख शान्ति तथा मोक्ष मिल्ने जनविश्वास छ ।

समुद्री सतहबाट करीब छ हजार फिटको उचाइमा अवस्थित उक्त डाँडालाई ‘स्वर्ग स्वपान’ अर्थात् स्र्वग जाने भ¥याङका रुपमा वर्णन गरिएको छ । कलङ्कीबाट करीब नौ किलोमिटरको दूरीमा रहेको इन्द्रदह जाने सडकखण्डमा कालोपत्रे हुन नसकेकाले यात्रुले केही समस्या झेल्नुपर्ने परेको छ ।

साँस्कृतिक महत्व बोकेको इन्द्रदहलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने चन्द्रागिरि नगरपालिका उपप्रमुख लीसा नकर्मीले बताउनुभयो । इन्द्र इन्द्रायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा वासुकी नागको ढुङ्गासमेत देख्न सकिन्छ । भ्यूटावर, बहुउद्देश्यीय भवनलगायत पूर्वाधार निर्माण शुरु भइरहेको छ । इन्द्रदहको परिसर करीब २०० रोपनीे छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गर्नु अगाडि शक्ति पीठका रुपमा स्थापना गरेको मनकामना मन्दिर, काजी कालु पाँडेको समाधिस्थल यही डाँडामा पर्दछ ।

प्राचीन गढी, नीलगिरि, धौलागिरि, माछापुच्छ्रे«, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्करलगायत हिमाल यहाँबाट देख्न सकिन्छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९का सांसद कृष्णगोपाल श्रेष्ठले उक्त क्षेत्रलाई महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न गृहकार्य भइरहेको बताउँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नसके पर्यटनका माध्यमबाट आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

धार्मिक, आध्यात्मिक र प्राकृतिक सम्पदाले भरिपूर्ण यस डाँडाबाट देखिने गोरखा, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ उपत्यकाका मनोरम दृश्यले धेरैको मन जित्ने गरेको छ ।

सुन्दर डाँडापाखा भएकाले हाइकिङ, बाइकिङ र साइक्लिङका लागिसमेत सम्भावना बढेकोे छ । दहदेखि नजीकै रहेको स्वीट्रल्याण्ड पार्कको छुट्टै विशेषता छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानका मानिस यहाँ घुम्न तथा वनभोजका लागि आउने गर्दछन् । पर्यटन क्षेत्रको विकासका लागि धेरै सम्भावना भए पनि यहाँ पर्यटकीय सुविधाका अत्याधुनिक होटल÷रेष्टुराँ र रिसोर्ट बन्न सकेको छैन ।कृष्णराज गौतम रासस

प्रतिक्रिया