कपालकाे चाया यसरी सजिलै हटाउनुहाेस्

रिता घिसिंग

एजेन्सी : जाडो महिनामा कपालमा बढी चाया पर्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई हामी चायाँ भन्छौँ ।

सरसफाइमा ध्यान नदिने मानिसमा चायाँ पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चायाँ पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चायाँ पर्छ ।

त्यस्तै, सुक्खा वातावरणमा बस्दा पनि कपालमा चायाँ पर्ने समस्या हुन्छ । लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चायाँ पर्ने समस्या हुन्छ ।

प्रायः कपाल नकोर्ने, टाउको ननुहाउने, फुस्रो छाला भएका, चिसो मौसममा कोठा न्यानो पारेर बस्ने, बढी नुनिलो, गुलियो र मसालेदार खाना खाने तथा रक्सी सेवन गर्ने हरुमा चाया पर्ने सम्भावना बढी हुन्छ । जाडो मौसममा टाउकोबाट टोपी नझिक्ने, कम नुहाउनेहरुलाई चायाले उस्तै खेदो खन्छ ।

यस्तै, हृदयघात र मस्तिष्कघातबाट तंग्रिन लागेका बिरामी, जिंक तथा भिटामिनको कमी भएका, मानसिक तनाव भएका मानिसलाई पनि चायाँले सताउँछ ।

उपचारः

नुहाउन दुइ घण्टा अघि नरिवलको तेलमा कपूर मिसाएर औंलाका टुप्पाले तालुमा मालिश गरी नुहाउने गर्नाले चायाँ कम गर्न सकिन्छ

कपाल कोर्न प्रयोग गरिने काइँयो सफा गरिरहनुपर्दछ ।

चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ सेम्फूहरु उचित प्रयोग गर्न सकिन्छ ।

सेम्फू छान्दा केटोनाजोल, सेलेनियम सल्फाइड, जिंक पैरिथियोन, सेलिसिलिक एसिक, कोल टार, टि–ट्री ओयलजस्ता औषधियुक्त सेम्फू छान्नुपर्छ ।

विभिन्न प्रकारका सेम्फूमध्ये आफूलाई उपयुक्त हुने सेम्फू छानिसकेपछि कम्तिमा एक महिना नियमित लगाउनुपर्छ । सुधार भएन भने सेम्फू बदल्न सकिन्छ । यसका लागि चर्म रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

सेम्फूमा दिइएको लगाउने तरिका राम्रोसँग पढ्नुपर्छ र त्यही अनुसार उपयोग गर्नुपर्छ ।सेम्फू प्रयोग गर्नुभन्दा पहिले पाप्राहरु उप्काउनुपर्छ ।

सेम्फू कम्तिमा पाँच मिनेटसम्म लगाउनुपर्छ । चाया नियन्त्रण नहुन्जेल दिनहु तथा नियन्त्रण भइसकेपछि हप्तामा दुई–तीन पटक प्रयोग गर्नु उपयुक्त हुन्छ ।

स्वस्थ छालाका लागि भिटामिनयुक्त साग–पात तथा फलफूल प्रसस्त मात्रामा खानुपर्छ ।

प्रतिक्रिया