कपिलवस्तुमा कृषि अनुसन्धान केन्द्र बन्छ : मन्त्री खनाल

admin

चन्द्रौटा, २८ पुस: कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कपिलवस्तुको विजयनगर गाउँपालिका–४ मा कृषि अनुसन्धान केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले केन्द्रका लागि आवश्यक जग्गाको अवलोकन गर्दै ५ नं प्रदेशका सबै जिल्लाका लागि केन्द्रपर्ने कपिलवस्तुमा सो अनुसन्धान केन्द्र बनाउने योजना रहेको बताउनुभयो । प्रदेश नं ५ को कृषि अनुसन्धान केन्द्र अहिले बाँकेमा रहेकाले प्रदेश संरचनाअनुसार सबैलाई पायक नपरेकाले सो केन्द्रलाई यथावत् राखी कपिलवस्तुमा नयाँ केन्द्र स्थापना गरिने उहाँले जानकारी गराउनुभयो ।

केन्द्रका लागि कम्तीमा २०० बिघादेखि ३०० बिघा जग्गा आवश्यकतापर्ने हुँदा जिल्लाको विजयनगर–४ देउपुरागाउँको सुरइ नदीको पश्चिम किनारमा रहेको करीब २५० बिघा जग्गाको उहाँले अवलोकन गर्नुभएको हो । मन्त्री खनालले कृषिका लागि रसायनिक मललाई हटाउँदै प्राङ्गारिक मल व्यवस्थापनका लागि विशेष योजनाका साथ कार्य भइरहेको बताउनुभयो । तत्काल कपिलवस्तुमा पाँच हजार मेट्रिकटन क्षमता भएको शीतभण्डार निर्माण कार्य थलानी भएकोसमेत उहाँले जानकारी गराउनुभयो ।
-रासस

प्रतिक्रिया